काठमाडौं,
११-असोज /  नेपाल आयल निगमले दशैंको अवधिमा इन्धन अभाव नहुने प्रतिबद्धता जनाएको छ । पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले आपूर्ति सहज हुने निगमको भनाइ छ ।


ADVERTISEMENT


‘दशैंको माग धान्नेगरी विभिन्न डिपोमा पर्याप्त सञ्चिती छ,’ निगमका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यले भने । उनका अनुसार निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको छ ।


ADVERTISEMENT

# # #


निगमले मुलुकभरका विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार सञ्चित गरिएको बताएको छ ।

आइतबारसम्ममा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मौज्दात ३९ हजार चार सय ४६ किलोलिटर छ । एक किलोलिटरमा एक हजार लिटर हुन्छ ।

पेट्रोल पाँच हजार दुई सय ७०, डिजेल ३० हजार नौ सय ३९, मट्टतिेल एक हजार चार सय ९५ र हवाइ इन्धन एक हजार सात सय ४२ किलोलिटर मौज्दात छ ।

हालको भण्डारण क्षमतालाई अधिकतम प्रयोग गरेर इन्धन मौज्दात गरिएको निगमको भनाइ छ । हाल निगमको भण्डारण क्षमता पेट्रोलको पाँच हजार एक सय ८४, डिजेलको ४२ हजार चार सय, मट्टितेलको १५ हजार ६ सय १९ र हवाइ इन्धनको आठ हजार चार सय ४७ किलोलिटर छ ।

विराटनगर, चारआली, भद्रपुर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज र काठमाडौंमा निगमका डिपो छन् । यस्तै, मन्थली, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, दिपायलमा पनि डिपो छन् ।

अहिले मुलुकभर डिजेलको माग दैनिक करिब दुई हजार किलोलिटर छ । पेट्रोलको ६ हजार, मट्टितेलको ८८ र हवाई इन्धन आठ सय ८० किलोलिटर माग छ ।

खाना पकाउने ग्यासमा पनि कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ ।