सिरहा– २१ हजारभन्दा बढी थप नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिरहामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् ।


ADVERTISEMENT


सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले बताइन् । गत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १ सय १ पुरुष, एक लाख ६० हजार २ सय ६७ महिला र दुई जना तेस्रोलिङ्गी गरी तीन लाख ४४ हजार ३ सय ७० मतदाता रहेका थिए ।


ADVERTISEMENT

# # #


अघिल्लो निर्वाचनमा रहेका २ सय २१ मतदानस्थललाई कायम राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गत २०७४ को निर्वाचनका बेलाका मतदानस्थललाई नै कायम राख्ने निर्णय गरेको कार्यालय प्रमुख यादवले जानकारी दिइन् ।

उनका अनुसार, निर्वाचन कार्यालयले घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगको तालिकाअनुसार जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाएको छ । यही माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरी माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकारबाट नामावली सङ्कलन गरिने कार्य सकिएको छ ।

आएका उजुरीहरूमाथि माघ १८ र १९ गते सफाइको मौका दिइने र माघ १८ देखि २० गतेभित्र निवेदनको आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकारबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरीउपर कारवाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

यसका साथै सिरहाको १७ वटै स्थानीय तहमा एक/एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइने छ । रासस