जीवलाल भुषाल, महानिर्देशक

उद्योग विभाग 

उद्योग विभागका पछिल्ला काम कारवाहीहरू के के छन् ? 


ADVERTISEMENT


उद्योग विभाग देशको समग्र औधोगिक क्षेत्रमा काम गरिरहेको विभाग भएकाले व्यवसायीले गर्ने उद्योग दर्ता, उद्योग अनुमति पत्र, विदेशी लगानी प्रवर्धनका लागि सहजीकरण गर्ने र औधोगिक बौद्धिक सम्पत्तिको संरक्षण गर्ने जस्ता महत्वपूर्ण काम विभागले गरिरहेको छ ।


ADVERTISEMENT

# # #


यस विभागमा म आइसकेपछि केही महत्वपूर्ण सुधारका प्रयासहरु मैले गरेको छु । विभागले दिने ४० प्रतिशत सेवाको ‘चेकलिस्ट’ तयार पारेर सबै सेवाका लागि आवश्यक प्रक्रिया, कागजात हामीले वेबसाइटमा राखेका छौँ । सेवाग्राहीहरू आउँदा चेकलिस्ट अनुसार कागजात, चेक क्लियरेन्स, सम्बन्धित निकायको अनुमति, उद्योग दर्ताको प्रमाणपत्र लगायतका सबै कागजातहरू जाँच गरेर थप आवश्यक कागजात माग गर्छौ ।

कुनै पनि झन्झट तथा ढिलासुस्ती नहुने गरी उद्योग दर्ता, उद्योगको क्षमता वृद्धि, थप पूँजी, वैदेशिक लगानी स्विकृत, ट्रेडमार्क लगायतका काम सहज भएको छ । विगतमा व्यवसायीको प्रकृया नपुगेको तथा नीतिगत अस्पष्टताका कारण रोकिएका उद्योगलाई हामीले औधोगिक लगानी वोर्डसँग मिलेर नीतिगत निर्णय गरेर सहज गरिरहेका छौँ । वैदेशिक लगानी कसरी वृद्धि गर्ने भनेर सरोकारवाला निकायसँग छलफल गरेर अध्ययनपश्चात प्रतिवेदन पनि तयार भएको छ । प्रतिवेदन अनुसार लगानीको क्षेत्रमा सुधारका काम अघि बढाउँदैछौँ । बौद्धिक सम्पत्तिको प्रशासन व्यवस्थित बनाउने, एकल बिन्दू सेवा प्रभावकारी बनाउने लगायतका काम अघि बढाएका छौँ ।

एक वर्षभित्र उद्योग विभागलाई पूर्ण डिजिटल बनाउने गरी काम गर्न प्रारम्भिक चरणका कम्पनीलाई छानेर टेन्डर प्रक्रिया अघि बढाएका छौँ । विभागको सूचना सम्प्रेषणलाई स्मार्ट बनाउन नयाँ वेबसाइट बनाएका छौँ, जसलाई हामी आगामी एक महीनाभित्र सार्वजनिक गर्ने तयारीमा छौँ । यस्तै नेपालमै सवारीसाधनको एसेम्बली उद्योग स्थापनाका लागि पनि हामीले काम गरिरहेका छौँ ।

कोरोनापछि उद्योगको अवस्था कस्तो छ ? 

कोरोनापछि उद्योग व्यवसाय प्रभावित भएको थियो । केही समयअघि क्षमताको ४० प्रतिशतसम्म मात्र उद्योगहरु सञ्चालन भएकोमा अहिले क्षमताको ६५ प्रतिशत हाराहारीमा उद्योगहरु सञ्चालनमा आइसकेका छन् । लघु, घरेलु तथा साना गरी सबै हेर्दा १० प्रतिशत उद्योगहरु धेरै प्रभावित भएर बन्द नै भएको भन्ने छ । तर अन्य उद्योगहरु केही समय प्रभावित भएपनि अहिले पहिलेको अवस्थामा फर्किन थालेका छन् । ‘गियर अप’ हुँदै गएको छ ।

पछिल्लो समय कस्ता उद्योगहरु दर्ता हुने क्रम छ ?

विभागमा पछिल्लो समय हाइड्रोपावर र त्यसपछि सिमेन्ट उद्योग बढी दर्ता भइरहेका छन् । पहिले उत्पादनमूलक उद्योगको दर्ता एकदमै कम हुने गर्थ्यो । तर अहिले अनुपात बढेको छ ।

उद्योग कलकारखानाको अभाव, बेरोजगारी जस्ता समस्याका कारण ठूलो संख्यामा हरेक दिन जनशक्ति विदेश पलायन भइरहेको छ । स्वदेशमै उद्योग विकास र रोजगारी कहिले होला ? 

आर्थिक समृद्धि हाँसिल तथा देशमा बेरोजगारी अन्त्य गर्न सरकार ठीक ट्र्याकमा अघि बढिरहेको छ । प्रत्येक पालिकामा लघु, घरेलु तथा साना उद्योग स्थापना गर्नेगरी प्रपोजल पठाउन सरकारले आह्वान गरेकोमा विभिन्न पालिकाले पेश गरिरहेका छन् । यसअघि नै १३० औधोगिक ग्राम बनाउने गरी प्रपोजल अघि बढिसकेको छ ।

हाम्रो मुख्य कमजोरी पूर्वाधार भएकोमा यसलाई सशक्त बनाउन सरकारले ठीक ढंगले काम गरिरहेको छ । उद्योग स्थापनाको वातावरण बनेको छ ।

सरकारले ५ अर्ब बराबरको कार्यक्रम ल्याएको छ र रोजगारी दिने उद्योगलाई ३ महीनासम्मको ट्रेनिङ, तलब लगायतको खर्च उपलब्ध गराउने प्रस्तावसहितको योजना अघि बढिरहेको छ । कयौँले स्वदेशमै रोजगारी पाउने वातावरण बन्दैछ ।

सरकारले कृषिमा सस्तो व्याजमा कर्जा दिइरहेको छ । उद्यमशीलता विकास गर्न उद्योग मन्त्रालयले ५० करोडको कोष बनाएर गृहकार्य गरिरहेको छ । तर यसको ‘स्पीड’ बढाउन आवश्यक देखिन्छ । सरकारले नगरेको होइन । युवाहरु पनि सिर्जनशील हुनुपर्यो ।

सोच परिवर्तन आवश्यक छ । विदेशमै गएर मात्र कमाउन सकिन्छ भन्ने मानसिकता त्यागेर र देशमै गर्न सकिने अवस्था छ भन्ने बुझेर यसका लागि काम गर्नुपर्यो । 

विदेशबाट फर्किएर आएका कयौँ युवाहरुले देशमै उद्यमशीलता गर्नुभएको छ । आन्तरिक रुपमा नै युवाहरु उद्यमशीलतामा जान सकेमा सम्भावना छ ।

अहिले प्रत्येक वर्ष ५ लाख काम गर्न योग्य युवाहरु उत्पादन हुने गरेका छन्, जसमध्ये मुश्किलले डेढ लाखले मात्र स्वदेशमा रोजगारी पाउने गरेका छन् । कृषि, पर्यटन, ऊर्जा लगायतका विभिन्न क्षेत्रमा सम्भावनाहरु छन्, युवाहरु पनि सकारात्मक हुने हो र राज्यले पनि यसको ‘स्पीड’ बढाउने हो भने आगामी दिनमा रोजगारी सिर्जना हुनसक्छ ।

सरकारले काम गरिरहेको छ, तर केही सुधार गर्न सकिन्छ । जस्तो : उद्योगलाई दीर्घकालीन फाइदा लिन सकिने क्षेत्रका रुपमा बुझ्नुपर्छ । सबभन्दा ठूलो कुरा देशमा उद्योग स्थापना भएकाले तत्काल बढी राजस्व लगाउनुभन्दा दीर्घकालीन रुपमा हेरेर सहजीकरण गर्न र विशेष छूट दिन आवश्यक छ । यसले देशमै रोजगारी सिर्जना हुन्छ, आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ । प्रत्येक वर्ष ५ लाख जनशक्ति नेपालमा उत्पादन हुने गरेकोमा अन्य मुलुकले आकर्षक आर्थिक प्याकेज ल्याउने हो भने युवा त्यता आकर्षित हुन्छन् । यसलाई रोक्न विशेष प्याकेज बनाउनुपर्छ । वैदेशिक लगानी भित्र्याएर देशको जनशक्ति देशमै प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

हामी आयातमुखी भएका छौँ, वैदेशिक व्यापार घाटा बढ्दो छ । व्यापार घाटा सन्तुलनका लागि के कस्ता प्रयासहरु भइरहेका छन् ?

पूर्ण आत्मनिर्भर देश कुनै पनि हुँदैन । तर नेपालमा आत्मनिर्भर भएका वस्तुको उत्पादन वृद्धि गरी निर्यातको पहल गर्नुपर्छ । खानी तथा भुगर्भ विभागले १४ जिल्लाका ९२ स्थानमा खानी सञ्चालन गर्न सकिने बताएको छ । त्यहाँबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका वस्तु उत्पादन गरेर ‘भ्यालु एड’ गरेर विदेशमा बेच्न सकिन्छ । त्यसपछि त्यहाँ वृक्षारोपण गर्न सकिन्छ ।

नेपालमा ठूल्ठूला पहाड छन् । त्यहाँ वन पनि छैन । त्यसलाई उत्खनन गरेर बेचेर राष्ट्रको विकास गर्न सकिन्छ भने त्यसमा किन नजाने ? त्यस्तै कृषि, ऊर्जा, पर्यटन प्रचुर सम्भावना भएका क्षेत्र हुन् । यस्ता सम्भावना भएका क्षेत्रलाई प्रर्वद्धन गरेर अघि बढ्नुपर्छ ।

हामी अहिले लगभग सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनिसकेका छौँ । दूग्ध, मासु, अण्डा, औषधि लगायतका उद्योग आत्मनिर्भरको हाराहारीमा पुगिसकेका छन् ।

हामी के केमा आत्मनिर्भर भयौँ भन्ने समेत अध्ययन गरेर हामीले निर्यात प्रर्वद्धनका लागि काम गर्ने योजना पनि बनाएका छौँ ।

अन्तिमममा के भन्नुहुन्छ ?

हामी विकास र समृद्धिको यात्रामा अघि बढिसकेका छौँ । सरकारले त्यहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । यात्रा शुरु भयो, हामी सही ट्र्याकमा छौँ । योजना अनुसार अघि बढ्दै जाँदा समृद्ध नेपालको सपना साकार हुने तर्फ हामी छौँ । बीचमा कोभिडले केही कमी भएपनि अर्थतन्त्र पुनः चलायमान हुँदै गइरहेको छ । दृष्य सकारात्मक र उज्यालो बन्दै गईरहेको छ ।