काठमाडौँ – प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक नियुक्तिका विरोधमा आन्दोलन गरिरहेको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आजको देशव्यापी आम हड्ताल पूर्ण रुपमा सफल रहेको दाबी गरेको छ ।


ADVERTISEMENT


बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त दाबी गरेका हुन् । प्रवक्ता श्रेष्ठले शान्तिपूर्ण आन्दोलनलाई असफल पार्न गरिएको षड्यन्त्रलाई समेत परास्त गरिएको जिकिर गरेका छन् ।


ADVERTISEMENT

# # #


‘संविधानको ठाडो उल्लंघन गर्दै प्रतिनिधिसभाको विघटन र संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुको असंवैधानिक नियुक्तिका विरुद्धमा हाम्रो पार्टी नेकपाद्वारा आज आह्वान गरिएको आम हड्ताल पूर्णरूपमा सफल भएको छ ।’ श्रेष्ठले विज्ञप्तीमा भनेका छन्, ‘शान्तिपूर्ण रूपमा आयोजित आन्दोलनलाई बदनाम गर्न, असफल पार्न, नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेतनामार्फ असफल पारिएको छ ।’

नेकपाले हड्तालका क्रममा पक्राउ परेको आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न समेत माग गरेको छ । प्रहरीले बिहान विरोध प्रदर्शनमा उत्रिएका नेकपा नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमेता थापा, प्रतापलाल श्रेष्ठ लगायतलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

यस्तै प्रचण्ड–माधव समूहले शान्तिपूर्ण प्रदर्शनका क्रममा जनकपुरमा प्रहरीले स्थायी कमिटि सदस्य मातृका यादव र केन्द्रीय कमिटि सदस्य रामचन्द्र झालाई गम्भीर घाइते बनाएको भन्दै भर्त्सना समेत गरेको छ । हड्तालमा प्राप्त जनसमर्थनले प्रतिगामी कदमविरुद्ध उत्रिन उत्साह र उर्जा प्रदान गरेको नेकपा प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौँमा बृहद् जनप्रदर्शन गर्दैछ ।