चितवन– चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । कलेजले अहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट आगामी फागुन १ गतेदेखि कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो ।


ADVERTISEMENT


कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार, विकसित मुलुकमा शुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो । विगत पाँच वर्षदेखि कपाल र छालासम्बन्धी सेवा दिँदै आएको कलेजले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयरको समन्वयमा जिल्लामा पहिलो पटक यो सेवा शुरु गरेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, भारतको चण्डीगढ़मा छाला तथा कपालसम्बन्धी विषयमा स्नातकोत्तर गरेर आउनुभएकी डा. श्रद्धा उप्रेती नेतृत्वको टोलीले यो सेवा प्रदान गर्नेछ । कपाल, छाला एवं यौन रोग विशेषज्ञ डा उप्रेतीले कपाल झरेर तालु चिल्लो भएको, घाउचोट वा पोलेको दागका कारण कपाल नभएको स्थानमा समेत प्रत्यारोपण गर्न सकिने जानकारी दिए । विशेष गरेर महिलामा हेयर लाइन मिलाउनुपर्ने अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्ने बताउँदै उनले भने; ‘कपाल झर्ने समस्याका लागि पनि विभिन्न थेरापीबाट समस्याको हाल गरिन्छ ।’

यहाँको सो सेवा हालसम्मकै अत्याधुनिक प्रणालीको सेवाका साथै छाला, सौन्दर्य र यौन रोगसम्बन्धी सम्पूर्ण उपचार हुने उनको दाबी छ । उनका अनुसार, कलेजले ल्याएको प्रविधि विश्वमा नै हालसम्मको सबै भन्दा नयाँ हो ।

यस्तै, रोपेको जति शतप्रतिशत कपाल बाँच्ने र कम समयमै राम्रो परिणाम आउने हुनाले हाल प्रायः सबै जनाले यो प्रविधि नै रोज्ने गरेको डा. उप्रेतीको भनाइ छ ।

यसैगरि, अरोगिन हेल्थकेयरका प्रबन्ध निर्देशक रोशन पाण्डे आफूहरुले काठमाडौँबाट यो सेवा दिँदै आएको भन्दै अब चितवनलगायत यस आशपासका बासिन्दा यो सेवाबाट लाभान्वित हुने बताउँछन् ।

त्यस्तै, चितवन मेडिकल कलेजले केही समय अघि अत्याधुनिक स्प्याक्टसिटी मेसिनसमेत भित्र्याएको छ । उक्त मेसिन भित्र्याएसँगै चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवासमेत शुरु भएको छ । कलेजले यस किसिमको अत्याधुनिक उपकरण नेपालमा पहिलोपटक आफूले शुरु गरेको जनाएको छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले स्वास्थ्यसँग सम्बन्धित सेवाका लागि बिरामी विदेश जानु नपर्ने गरी सेवा बिस्तार गरिएको बताए । ‘हामी विश्वका ठूला अस्पतालले दिने सेवा यही दिनका लागि काम गरिरहेका छौँ; उनले भने ।

कतिपय विभाग नेपालको उत्कृष्ट रहेको भन्दै उनले आफ्नो प्रतिस्पर्धा विदेशका ठूला अस्पतालसँग हुनेगरी उपचार सेवा बिस्तार गरिरहेको जानकारी समेत दिएका छन् । रासस