हुम्ला–मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै निजी काम भन्दै जिल्ला बाहिर गएपछि स्वास्थ्यचौकी कर्मचारीविहीन बनेको हो ।


ADVERTISEMENT


स्वास्थ्यकर्मीको यस्तो गतिविधिले गाउँमा बिरामीलाई भने सास्ती भएको छ ।


ADVERTISEMENT

# # #


एकएक इञ्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीयवासी भीषण कार्कीले बताए । एक महिनादेखि बन्दस्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै अवस्थामा छ ।

गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्यचौकी पुगेका बिरामीले तीन महिनादेखि रित्तो हात लिएर घर फिर्ता हुनुपरेको बताइएको छ । रिपबासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयवासीको गुनासो छ ।

रिपबासी मात्रै नभएर वडा नं ३ उनापानीका सेवाग्राहीले समेत रिप स्वास्थ्यचौकीबाट सेवा लिने भएको हुँदा गाउँपालिकाका दुई वटा वडाका नागरिकलाई थप समस्या बनाएको छ । स्वास्थ्यचौकी इञ्चार्ज आफ्नो घर बनाउन सुर्खेत गएको र एक अनमी आफ्नै काममा व्यस्त रहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रसिंह कार्कीले भने; कामविशेषले तराई झरेको र अबको एक दुई हप्तामा कार्य क्षेत्रमा फिर्ता हुने जनाएका छन् । आफू तराई झरेको दुई हप्तापछि स्वास्थ्यचौकीमा कार्यरत अनमीको दुई महिनाको तालीम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको इञ्चार्ज कार्कीले स्वीकार गरेका छन् । रासस