भनिन्छ, प्रेम एउटा बाच्ने आधार हो । हुन पनि माया, घृणा, रिस, डाहा, शान्त, अशान्त सबथोक प्रेम सम्मिश्रणकै एक भाव हो । भावनात्मक सम्बन्धको मुख्य केन्द्रबिन्दु नै प्रेम हो । यसको कुनै ठोस परिभाषा र सीमा हुँदैन भन्छन् । कसले कसलाई कतिको माया गर्‍यो? हालसम्म यसको कुनै मापन यन्त्र छैन । अनि कसरी गर्‍यो ? यो भावको कुनै शाब्दिक बयान नै छैन । आफ्नै अनुभवद्वारा प्रत्येकले यसलाई आफ्नै किसिमले परिभाषित गरिएको पाइन्छ । अनि सायद यसको कुनै सीमा नहुने भएकै कारण होला प्रेमसंग जोडिएको पश्चिमेली संस्कृति ‘प्रेम दिवस ’ अर्थात्, ‘भ्यालेन्टाइन डे ’ नेपालमा पनि उत्तिकै लोकप्रिय बन्न पुगेको छ । वर्तमान समयमा मुख्यतयाः युवायुवती तथा दम्पत्तिले यसलाई विशेष अवसरका रुपमा मनाउन थालिएको पाइन्छ । यसै ‘भ्यालेन्टाइन डे ’को अवसरमा मनोदार्शनिक प्रा. विनोद शर्मासँग प्रेमको विषयमा हिमालय पोष्टकी सृजना मगरले गरेको कुराकानीः


ADVERTISEMENT


प्रेमलाई कसरी परिभाषित गर्नु हुन्छ ? के हो प्रेम ?


ADVERTISEMENT

# # #


मेरो विचारमा वर्तमान समयमा प्रेम शब्दको दुरुपयोग भएको छ । र, यसलाई धेरै सन्तहरुले पनि अनुभुति गर्नु भएको छ । धेरै सन्तहरुले यसको(प्रेमको) पराकाष्ठालाई व्याख्या पनि गर्नुभएको छ । कविर साहेब, महारथी प्राणनाथ प्रभुजस्ता सन्तहरुले प्रेमको उचाईलाई व्याख्या गर्नुभएको छ । र, उहाँहरुको आधार र मेरो अनुभुतिले के भन्छ भने; फुलेको फुलको अवस्था र बलेको दियोको अवस्था नै प्रेम हो । जसरी फुलेको फुलले मलाई टिप्न आयो भनेर सुगन्ध छर्न छोड्दैन । त्यो फुलले आफ्नो अन्तिम साससम्म पनि सुगन्ध दिइराख्छ । ऊ झरिसक्दा पनि उसले आफ्नो सुगन्ध छोड्ने स्वभावलाई छोडेको हुँदैन । र, त्यहि नै प्रेम हो । त्यस्तै, बलेको दियो भनौँ वा सूर्यको प्रकाश । यी दुईले कहिल्यै पनि कसैलाई भेदभाव गर्दैन र गरेको छैन । त्यो प्रेम हो । मान्छेको चेतनाको एउटा स्वभाव हो प्रेम । जसले कसैलाई पनि मतभेद गर्दैन, त्यो प्रेम हो ।

वर्तमान समयमा आर्कषणलाई पनि प्रेमसँग जोडिएको पाइन्छ । के प्रेमको उद्गमस्थल नै आर्कषण हो त ?

होइन । वर्तमान समाजमा जुन आर्कषणलाई प्रेम भन्ने चलन फस्टाएको छ नि अहिले त्यो प्रेम हुनै सक्दैन । किनकी देख्दैमा माया र नबोल्दैमा प्रेमको अन्त्य कदापि हुदैँन । त्यो त, केवल शारीरिक आकर्षण मात्रै हो । अर्थात्, नपाउँदा कस्तो र पाएपछि सस्तो हुने त्यो प्रेम होइन । प्रेम त सदैव एकैनास र उस्तै रहिरहन्छ । वर्तमान समयमा प्रेम शब्दको दुरुपयोग भएको छ । प्रेम त सदैव एकैनास र उस्तै रहिरहन्छ ।

आजको दिन अर्थात्, प्रणय दिवस तपाईंको विचारमा के हो ?

आजको दिनमा प्रणय दिवसलाई जस्तो किसिमले मनाइदैँछ, मेरो विचारमा खास यो त पश्चिमी नक्कल मात्रै हो । यसको शुरुआत र आजको दिन मनाउने सन्दर्भ हेर्ने हो भने म त यसबीचको कतै केहि तालमेल नै देख्दिँन । त्यतिबेला इसापूर्वमा इटालिको रोम शहरमा जब ‘क्लडियस सेकेन्ड’ भन्ने एकजना तानाशाहले युवायुवती प्रेममा परे भने सेनामा भर्ती हुन आउँदैनन् भन्ने मनसायले उनीहरुलाई विवाहमा प्रतिबन्ध लगाई दिएका थिए । र त्यसताका त्यहाँ रहेका चर्जका पादरी सेन्ट भ्यालेन्टाइनीले त्यसको प्रतिकार गरेका थिए । यसको झोकमा ‘क्लडियस सेकेन्ड’ले उनको हत्या गरिदिएका थिए । तसर्थ प्रेमको नाममा दिएको उनको बलिदान सम्झेर नै खासमा ‘प्रणय दिवस’ मनाउन थालिएको हो ।

आजका समयमा यस दिनको कत्तिको महत्व छ ?

प्रेमको आवश्यकता प्रत्येक प्राणीलाई जुनसुकै अवस्थामा पनि आवश्यक पर्छ । अझ भन्ने हो भने, वास्तवमा आजका दिनमा साँचो अर्थमा प्रेमलाई बुझ्नु जरुरी छ । प्रणय दिवसको नाममा रोज डे र प्रपोज डेजस्ता अनेकौँ दिनहरु हाल साप्ताहिक रुपमा अहिले जुन किसिमले मनाउन थालिएको छ, यो त केवल औपचारिकता मात्रै हो । यसको कुनै अर्थ छैन । यसको सट्टा बरु प्रणय दिवसमा हामीले साँचो प्रेम प्रवाह गर्ने संकल्प गर्नुपर्छ । एकदिनलाई मात्रै होइन हामीले पलपललाई प्रणय दिवस बनाउन सक्नुपर्छ । अर्थात्, पलपल प्रेमिल वातावरण सिर्जना गरेर प्रणयपल किन नबनाउने ? त्यसकारण हामीले पलपललाई प्रेमिल र सुन्दर समय बनाउनतर्फ लाग्नुपर्छ । अन्यथा कैयौँ प्रणय दिवस बित्दा पनि प्रेमबिना यो जहिल्यै निरर्थक रहन्छ । अन्यथा यस दिनको कुनै सार्थकता रहदैन ।

प्रेम र विवाहबीचको भिन्नतालाई कसरी लिनुहुन्छ?

मेरो विचारमा प्रेम र विवाह एउटै होइन । विवाहले प्रेमलाई मारिदिन्छ । त्यसको उदाहरणका लागि जति पनि छन्, अहिलेका पतिपत्निलाई हेरे हुन्छ । किनकी मानवीय मानसिक धारणा कस्तो छ भने, अधिकांशको केशमा ‘नपाउन्जेल कस्तो कस्तो? पाएपछि सस्तो’ हुन्छ । प्रेम हुँदा कुनैपनि युवा युवतीबीच आर्कषण हुन्छ । र, उनीहरुको भेट नहुदाँ त्यो आकर्षण झन् उस्तै गरि फैलिन्छ । कतिपयले यस्तै मुद्दामा आत्महत्या समेत गरेको सुनेका छौँ । त्यो मुर्खता हो । उनीहरुले क्षणिक भावमा बहेर मुर्खतालाई अपनाएका हुन् । तर, त्यहि प्रेम नै नजिकिएर भेट भयो भने उनीबीचको आकर्षण घट्दै गई म्यानेजमेन्टमा ‘प्रोफिटमा लस’ को अवस्था भनेजस्तै माया पनि घृणामा परिणत हुन थाल्छ । अनि त्यसैले उग्र रूप लिई सम्बन्ध विच्छेद(डिभोर्स)को विकल्प रोज्न थाल्छन् जोडीहरु ।

अझ, डिभोर्सको परम्परा पश्चिमी देशको तुलनामा हाम्रो पूर्वीय देशमा कमै देखिन्छ । र, त्यसैको फलस्वरुपः यहाँ प्रेम नहुँदा पनि कम्प्रोमाइज(सम्झौता)मा बस्ने जोडिहरु कयौँ छन् । जसले कलहपूर्ण, अशान्त, एकअर्कामाथिको जासुसी एवम् शंका–उपशंकाको सिर्जना गरिदिन्छ । त्यस्तै, आफ्नो पतिपत्निलाई सम्पत्तिसरह ठानेर आदि हक जमाउने प्रयास चलिरहन्छ । अनि यसमा प्रेम नै हुँदैन ।

प्रेम भनेको त आत्मज्ञान हो । जबसम्म मान्छेले आफूलाई अध्यायसँग जोड्दैन, उसँग आत्मज्ञान हुँदैन र आफुले आफैँलाई म को हो भनेर चिन्दैन तबसम्म प्रेम कदापि हुदैन । आत्माको स्वभाव नै प्रेम हो । र, जबसम्म आत्मज्ञानको कमी रहन्छ तबसम्म प्रेमको उद्घाटन नै हुँदैन ।

अनि सम्झौता र त्याग फरक पाटा हुन् त ?

सम्झौता भनेको एकदमै तुच्छ पाटो हो । यसको बाटोलाई राम्रो पथ मानिदैन । यद्यपि अन्य कुनै विकल्प नभएको अवस्थामा यसलाई पनि हामीले अंगाल्न सक्छौ । र, त्याग भनेको आफ्नो भन्दा अरु(प्रेमी)को लागि हारिने सबैभन्दा ठुलो सन्तुष्टको जीत हो ।

एउटा व्यक्तिले क–कसलाई प्रेम गर्न सक्छ ?

मैँले अघि भनेजस्तै, जब व्यक्ति प्रेमपूर्ण बन्छ र उसको स्वभाव फक्रिन्छ, त्यसपछि उसले व्यक्तिलाई मात्रै होइन, पशुपंक्षी र बोटबिरुवालाई समेत प्रेम गर्न थाल्छ । यति मात्रै होइन उसले निर्जीव वस्तुलाई समेत प्रेम गर्न थाल्छ । अहिले त स्त्रीले पुरुषलाई र पुरुषले स्त्रीलाई गर्ने आर्कषणलाई प्रेम ठानेर वासतविक प्रेमको उचाईलाई संकुचित पार्न खोजिएको छ । त्यति सांघुरो छैन प्रेमको परिभाषा । यसको परिभाषा त, व्यापक, विशाल र खुल्ला छ । त्यसकारण प्रेमको परिभाषालाई हामीले प्रणय दिवसको नाममा खुम्चाउन खोज्नु हुँदैन । एक त यो हाम्रो आफ्नो राष्ट्रिय पर्व पनि होइन । यद्यपि प्रेमको नाममा यो स्थापित भएको हुनाले हामीले यसलाई स्वीकार त गरेका छौ । तर, यसैको नाममा विकृति फैलाउनु र फैलिन दिनु भने हुदैन ।

अन्त्यमा, सम्बन्ध राम्रो बनाउने मुख्य आधार चाहिँ के हो त ?

सम्बन्ध राम्रो बनाउने भरपर्दाे माध्यम नै त्याग, बलिदान र स्वीकार्य भाव हो । प्रेम गर्ने व्यक्तिले उचित सम्बन्धको लागि हरेक कुरा स्वीकार्न सक्ने तागत राख्नुपर्छ । कसैलाई पनि परिवर्तन नगरी, आफ्नो वशमा पार्न नखोजी, जस्तो छ त्यस्तै नै स्वीकार गर्ने बानी बसाल्नुपर्छ । जसले आफूले माया गर्छ त्यो व्यक्तिलाईआफ्नो स्वामित्वमा पार्न खोज्छ भने, स्वतः त्यहाँ सम्बन्ध नराम्रो भइदिन्छ । त्यस्ता सम्बन्ध प्रेमभन्दा पनि बढि स्वार्थको भावले दूर्गन्धित हुन्छ ।