काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगमाथि शंका उत्पन्न भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार भैरहवामा सोमबार कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोक्दा पनि आयोगले तयारी नगरेको भन्दै शंका व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला सभापति देउवाले भने आयोगले चुनावको तयारीका लागि अदालतको फैसला कुनु नपर्ने जिकिर गरेका हुन् । उनले आयोगले चुनावको कार्यतालिका प्रकाशित गर्न ढिला गरेकाले आयोगमाथि नै शंका गर्नुपर्ने बेला भइसकेको बताए ।

कानुन अनुसार संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नु पर्ने बाध्यता रहे पनि निर्वाचन आयोगले अझै कार्यतालिका नल्याएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ?’ सभापति देउवाले भने, ‘अदालतको निर्णय पर्खने काम आयोगको होइन। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो ।’

आयोगले बद्मासी गर्न सक्ने भन्दै उनले अघि थपे, ‘जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले । किन बोल्दैन निर्वाचन आयोग ? शंका गर्नुपर्ने बेला भएको छ ।’

प्रतिनिधिसभा विघटनबारे भने देउवाले सर्वोच्च अदालतको फैसला पर्खिनुपर्ने बताउँदै आएका छन् ।