काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन्। वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन्।


ADVERTISEMENT


वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ। प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए। उनले यतिबेला हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको बताए।


ADVERTISEMENT

# # #


‘राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेका छौँ। यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ।’

सरस्वती पूजाको दिनलाई ससाना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ। वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ। एक वर्षलाई छ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ। रासस