इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताएका हुन् ।


ADVERTISEMENT


नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेकोमा पुनः जोड दिएका छन् । उक्त अवसरमा बोल्दै उनले; ‘प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गरेका हुन् ।’


ADVERTISEMENT

# # #


उनले सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नुको संकेत रहेको समेत जनाएका छन् । ‘त्यसैले चुनावी कार्यक्रममा जुट्नु पर्छ; उनले भने ।

नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै अघि भने; ‘कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन ।’

उनले आफू सर्वोच्च अदालतको निर्णयप्रति विश्वास राख्ने भएकाले त्यसबारे नबोल्ने बताएका छन् । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी नेता नेम्वाङको थियो ।

सरकारले अघि सारेका नीति तथा कार्यक्रम संसद्मा दर्ता नै नहुने स्थिति आएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको बाटो रोजेको उनको भनाई छ । रासस