काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनको गुणस्तर सुधारसँगै प्रभावकारी ब्रान्डिङ र बजार विस्तारमा ध्यान दिनुपर्ने बताएका छन्।
नेपाली वस्तुमा पर्याप्त सम्भावना रहे पनि उचित ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उनको भनाइ छ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ, गुणस्तर र उपभोक्ताको विश्वास निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले छुर्पी, बेसार र अलैँचीजस्ता सम्भावनायुक्त नेपाली उत्पादनले समेत प्रभावकारी ब्रान्डिङको लाभ लिन नसकेको उल्लेख गरे। बजारमा नक्कली ब्रान्डका वस्तु बिक्री हुने समस्या रहेको भन्दै उनले ब्रान्ड संरक्षणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
मल्होत्राका अनुसार नेपाली ब्रान्ड कुनै वस्तु वा सेवाको नाममा मात्र सीमित हुँदैन। यो देशको उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र आर्थिक पहिचानसँग जोडिएको विषय हो।
नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि चर्चा हुँदै आए पनि उत्पादन वृद्धि मात्रले अपेक्षित आर्थिक उपलब्धि हासिल नहुने उनले बताए। उत्पादनलाई बजारसम्म पुर्याउन प्रभावकारी ब्रान्डिङ, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता आवश्यक रहेको उनको भनाइ छ। ‘मेड इन नेपाल’ लाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए। नेपाली उत्पादनलाई घरेलु बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने उनले बताए।
यसका लागि सरकारले स्थिर नीति, लगानीमैत्री कानुन, सहज व्यावसायिक वातावरण, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने मल्होत्राको सुझाव छ। त्यस्तै, निजी क्षेत्रले उत्पादनको गुणस्तर र नवप्रवर्तनमा जोड दिनुपर्ने तथा सञ्चारमाध्यमले नेपाली उत्पादन र सफल उद्यमशीलताका कथा स्वदेश तथा विदेशमा पुर्याउन भूमिका खेल्नुपर्ने उनले बताए।
नेपाली उत्पादनको पहिचान बलियो बनाउन सके स्वदेशी वस्तुको बजार विस्तार हुनुका साथै निर्यात प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















