काठमाडौँ – कोरोना महामारीका कारण लामो समय लकडाउन भएको नेपालमा अहिले भने कोरोनाको मतलब कसैलाई छैन । सरकार आफैले ठूल्ठूला राजनीतिक कार्यक्रम गरिरहेको छ भने उद्योग, , कार्यालय, विद्यालय, बजार लगायत सबै क्षेत्र पूर्वबत अवस्थामा फर्किसकेका छन् ।


ADVERTISEMENT


सरकार आफैले कोरोनाको ख्याल नगरी शक्ति प्रदर्शनका नाममा ठूल्ठूला कार्यक्रम आयोजन गरिरहेको छ । अवस्था सामान्य भइसकेको छ । यद्यपि, नेपाल घुम्न आउने पर्यटकका लागि भने नेपालमा कोरोना अझैँ बाँकी रहेका भाष्य सरकारले स्थापित गरेको छ । सबै सामान्य भइसक्दा पनि अझैँ पर्यटकलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ ।


ADVERTISEMENT

# # #


करिब एक वर्ष अघि बनाएको स्वास्थ्य मापदण्ड सरकारले अझैँ परिमार्जन नगर्दा पर्यटन व्यवसायमा यसको प्रत्यक्ष असर परेको छ । जसकारण नेपाल आउने पर्यटक भारत, पाकिस्तान लगायतका अन्य देशमा डाइभर्ट हुन थालेका छन् ।

नेपाल हिमालहरूको देश भएकाले यहाँ हिमाल आरोहन र ट्रेकिङमा आउने विदेशी पर्यटकको संख्या ठूलो छ । यद्यपि, सरकारी नीतिका कारण विदेशी पर्यटक नेपाल आउन चाहिरहेका छन् । नेपालमा अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने भएपछि पर्वतारोहन र ट्रेकिङका लागि नेपाल आउने पर्यटक पाकिस्तानको केटू हिमालतर्फ डाइभर्ट भएको सातोरी एडभेन्चर्सका सञ्चालक ऋषि भण्डारीले बताए । उनले भने, ‘नेपालमा १० दिन क्वारेन्टिन अनिवार्य गरिएकाले नेपाल आउने विदेशी पर्यटक निरुत्साहित भएका छन् ।’

सामान्यतया नेपाल आउने अधिकांश पर्यटक नेपाल घुमेर १० दिनसम्ममा फर्किहाल्ने गरेकोमा १० दिनसम्म त क्वारेन्टिनमै बस्नपर्ने भएपछि उनीहरू निरुत्साहित भएको उनले बताए । सरकारी नीति परिमार्जन नहुने हो भने यसले पर्यटन उद्योगमा ठूलो हानी गर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायीहरुले सरकारलाई बारम्बार क्वारेन्टिन बस्नुपर्ने प्रावधान हटाउनुपर्ने मागपत्र पेश गरेका छन् । यद्यपि, तत्काल क्वारेन्टिनको प्रावधान हट्न नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए । ‘कोविडको समस्या यथावत रहेकाले अहिले नै क्वारेन्टिनको प्रावधान हटाउने अवस्था छैन,’ उनले भने, ‘हामी पर्ख र हेरको अवस्थामा छौँ।’