रुकुमपूर्व– सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो ।


ADVERTISEMENT


शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रु. दुई करोड १३ लाख र जनश्रमदान गरी करीब रु. चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिरोले क्षति गरेपछि अवरुद्ध भएको थियो । विद्युत् गृहको माथिबाट आएको पहिराले विद्युत् गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणको विद्युत् उपभोग गरेका थिए ।


ADVERTISEMENT

# # #


अहिले करीब रु. ४० लाखको बजेटमा विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको रुकुमपूर्व, जामाखोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए । उनका अनुसार, विद्युत् सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।

आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । अवरुद्ध विद्युत् सेवा पुनः निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् । रासस