लमजुङ– जिल्लामा एक आश्रम भवन निर्माणका लागि मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टन्डन, केन्द्रीय अध्यक्ष रामजी अधिकारी, पूर्व मिस नेपाल शृङ्खला खतिवडालगायत प्राविधिक टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । बेँसीशहर नगरपालिका ९ पाखाथोक बालसपना समाजले उपलब्ध गराएको पाँच रोपनी जग्गामा निर्माण हुने मानव सेवा आश्रमको लागि आज उहाँहरुले स्थलगत अध्ययन तथा अवलोकन गरेका हुन् ।


ADVERTISEMENT


सो अवसरमा आश्रमका प्रमुख संरक्षक टन्डनले मानवीयताले गर्ने सबैभन्दा ठूलो काम मानवीय सेवा रहेको बताए । समुदायस्तरमा भएका सङ्घसंस्था, सर्वसाधारण सबै मिलेर अघि बढेमा आश्रम भवन निर्माण गर्न सहज हुने उनको भनाइ छ । आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले भने; ‘नेपाललाई विसं २०८२ सम्म सडक मानवमुक्त घोषणा गर्ने भनिए पनि सोभन्दा अघि नै विसं २०७८ फागुनसम्म घोषणा गर्ने गरी अघि बढिरहेका छौँ ।’


ADVERTISEMENT

# # #


लमजुङलाई जिल्लालाई सो भन्दा अघि नै सडकमा नवमुक्त घोषणा गर्न लागेको उनको भनाइ छ । आश्रम निर्माणका लागि अर्थ सङ्कलन गर्ने उद्देश्यले चाँडै महायज्ञ आयोजना गरिने बताइएको छ ।

इन्जिनीयर तथा पूर्व मिस नेपाल खतिवडा स्थलगत अवलोकन गरेपछि यहाँ आश्रम भवन निर्माणको लागि चाँडै नक्शा निर्माण गर्ने बताए । उनले यहाँ जिल्लाकै नमूना तथा परम्परागत रुपमा आश्रम बनाउन भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । नगरप्रमुख गुमानसिंह अर्याल, वडाध्यक्ष शरद बराललगायतले यहाँ आश्रम भवन निर्माणका लागि आ–आफ्नो भूमिका तथा तहबाट विभिन्न सहयोग गर्ने बताए ।

आश्रमकी संयोजक अनिता अधिकारीले यस भवन निर्माणका लागि नक्सा तयार गर्नेदेखि आसपासमा विभिन्न संरचना तयार पूर्व मिस नेपाल  खतिवडाले नै गर्ने जानकारी दिइन् । आश्रममा १०० जना सडक मानव अट्ने भवन, शौचालय, कार्यालयदेखि विभिन्न संरचना निर्माण गर्ने आश्रमले जनाएको छ । आश्रमका अनुसार, त्यस्तै यस आश्रम परिसरमा बाल सपना समाजसँग समन्वय गर्दै आश्रमले बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, ब्यायमशाला, उपचार कक्षलगायतका संरचना निर्माण गर्ने भएको छ ।

आश्रम निर्माणका लागि गत मङ्सिर १७ गते बाल सपना समाज लमजुङले निःशुल्क पाँच रोपनी जग्गा प्रदान गरेको थियो । समाजको नाममा रहेको १३ रोपनी जग्गामध्ये पाँच रोपनी जग्गा सरकारी मूल्यअनुसार रु. एक करोड ६८ लाख छ हजारबराबरको जग्गा आश्रमलाई निःशुल्क उपलब्ध गराइएको समाजका अध्यक्ष बालकृष्ण बरालले बताए ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आश्रमको भवन निर्माणका लागि यस चालू आर्थिक वर्षमा रु. ५० लाख विनियोजित गरेको आश्रमले जनाएको छ । यस आश्रम २०७३ चैत १२ गते छैटौं शाखाका रुपमा यस नगरपालिका ७ हाइस्कुल चोकमा एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको छ । यस आश्रममा हाल ३२ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन् । रासस