काठमाडौं – वेष्टइन्डिजका अलराउन्डर क्यारन पोलार्डले एकै ओभरमा छ छक्का प्रहार गर्दै कीर्तिमान कायम गरेका हुन् । यससँगै ओभरको सबै बलमा छक्का प्रहार गर्ने उनी तेस्रो ब्याट्सम्यान बनेका छन् ।


ADVERTISEMENT


श्रीलङ्का विरुद्धको पहिलो टी ट्वान्टी खेलमा उनले अकिला धनञ्जयको ओभरको छ बलमा छ छक्का प्रहार गरे । अकिलाले हयाट्रिक विकेट लिएको एक ओभरपछि पोलार्डले छ बलमा छ छक्का लगाए । १३२ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले तीन ओभर २ बलमा ५२ रन बनाएर उत्कृष्ट सुरुवात गर्यो । तर अकिलाले एकै ओभरमा तीन विकेट लिएपछि वेष्टइन्डिज दबाबमा आयो ।


ADVERTISEMENT

# # #


अकिलाले एभिन लेविस, क्रिस गेल र निकोलास पूरनलाई पेभेलियन फर्काएर हयाट्रिक विकेट पुरा गरे । क्रिस गेल आफ्नो पुनरागमन खेलमै डक आउट हुन पुगे। निकोलास पूरनले समेत खाता खोल्न सकेनन् ।

लेन्डी सिमोन्सले २६ र एभिन लेविसले २८ रनको योगदान दिए । आठ बलपछि लेन्डी सिमोन्स पनि पेभेलियन फर्किए । क्रिजमा ब्याटिंग गर्न आएका क्यारन पोलार्डले अघिल्लो ओभरमा हयाट्रिक विकेट लिएका अकिला धनञ्जयको ओभरको प्रत्येक बलमा छक्का लगाउँदै युवराज सिंह र हर्षेल गिब्सको क्लबमा आफ्नो नाम दत्र्ता गराउन पुगे । कप्तान क्यारन पोलार्डले वनिन्डु हसरंगा डे सिल्भाको बलमा एलबीडब्ल्यु आउट हुनुअघि मात्र ११ बलमा ३८ रनको योगदान दिए । उनी पेभेलियन फर्किदा वेष्टइन्डिजले ८० बलमा मात्र ३१ रन ल्याउन जरुरी थियो । श्रीलङ्का विरुद्धको खेलमा वेष्टइन्डिजले पावर प्लेमा अहिलेसम्मकै उच्च योगफल तयार गरेको कीर्तिमान बनायो । जैसन होल्डरले २४ बलमा २९ रन बनाएर अविजित रहे ।

त्यसअघि, कुलिजमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको श्रीलङ्काले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १३१ रन जोडन सफल भयो । उसको ब्याटिंगमा ओपनर निरोशन डिकवेलाले ३३ तथा पथुम निसान्काले ३९ रनको योगदान दिए।

वेष्टइन्डिजका बलिंगमा ओबेड म्याकैले सर्वाधिक दुई तथा केभिन सिन्क्लैर, फिदेल एडवार्डस, जैसन होल्डर, ड्वायन ब्राभो र फाबियन एलेनले सामान एक एक विकेट लिए ।

जितसँगै वेष्टइन्डिजले तीन म्याचको श्रृखंलामा १–० को अग्रता लिएको छ ।