काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पर्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् । प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिएका हुन् ।


ADVERTISEMENT


मन्त्री गुरुङले दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको भएको भन्दै ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको उल्लेख गरे । ‘अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्‍याउन जरुरी छ; उनले भने । उनले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्नेतर्फ समेत औल्याएका छन् ।


ADVERTISEMENT

# # #


फरक प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गरे । उनले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने विश्वास जनाएका छन् ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजनानुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्‍याउन निर्देशन दिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५ सय ४२ स्थानीय तह, चार हजार ४ सय १२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याइएको जानकारी दिए।

उनका अनुसार, सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्‍याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको छ । रासस