काठमाडौं – निजगढ विमानस्थल निर्माण प्रक्रियामा ठूलो आर्थिक चलखेलको खुलासा भएको छ । विमानस्थलको गुरुयोजना निर्माण परामर्शदाता छनोटमा ‘एरोडरोम सेफ्टी स्ट्यान्डर्डस डिपार्टमेन्ट’मा दरबन्दी रहे पनि शक्तिकेन्द्र धाएर राष्ट्रिय गौरव आयोजनाको प्रमुखका रुपमा काजमा रहेका प्रदीप अधिकारीकै संलग्नतामा अनियमितता भएको खुलेको हो ।


ADVERTISEMENT


गुरुयोजना निर्माणका लागि भएको प्राविधिक छनोटमा कार्यालयको मापदण्ड अनुसार उच्च मूल्याङ्कन पाएको कम्पनीलाई पाखा लगाएर प्रमुख अधिकारीले कम मूल्याङ्कन भएको कम्पनीलाई छनोट गरेको पाईएको छ । सो क्रममा उनले ठूलै आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी समेत परेको छ । गत माघ ७ गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ‘सी ०२२५८९’ रहेको छ ।


ADVERTISEMENT

# # #


गत ५ जनवरी २०२० मा अन्तराष्ट्रिय आवेदन माग भए अनुसार आवेदन परेका विभिन्न ६ कम्पनीहरुमध्येबाट तोकिएको मापदण्डका आधारमा तीन कम्पनीहरु छनोट गरिएको थियो ।

छनोटको अन्तिम चरणमा NACO-PUMORI कम्पनीले सबै भन्दा बढी ७७ अंक पाएको थियो । अर्को, CG-INFRATA-BDA JV CG-INFRATA-BDA JV ले ५७ अंक पाएको थियो । त्यस्तै, DORSCH-SITARA ले ५४ अंक पाएको थियो ।

सबै भन्दा बढी ७७ अंक NACO-PUMORI कम्पनीले पाएपनि काम भने ५७ अंक मात्रै पाएको CG-INFRATA-BDA JV कम्पनीले पाएको छ ।

छनोट हुनका लागि न्युनतम ६० अंक भन्दा माथि सबैभन्दा बढी ल्याउने कम्पनी हुनुपर्ने मापदण्ड रहेको छ । तर, मापदण्डकै धज्जी उड्ने गरी पास नम्बर समेत नपाएको कम्पनीलाई कामको जिम्मा दिनुले परियोजनाकै बेईज्जती भएको भन्दै विरोध भएको छ । कम मूल्याङ्कन पाएको कम्पनीलाई नम्बर थप गरेर छनोट गर्ने प्रमुख अधिकारीको चलखेलका कारण नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक (डीजी) राजन पोखरेलले समेत हैरानी व्यक्त गर्ने गरेको एक कर्मचारीले हिमालय पोष्टलाई बताएका छन् । विषयविज्ञता भए डीजी पोखरेलको सोझोपनको फाईदा उठाउँदै अधिकारीले क्यानलाई दुरुपयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

प्रमुख अधिकारीले बिट गरिएको रकमको ३० प्रतिशतसम्म खुलेआम पैसा माग्ने गरेको कम्पनीहरुले सूचना दिएका छन् । श्रोतका अनुसार उनले विभागीय मन्त्री र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई समेत भाग पुर्‍याउनु पर्छ भन्दै पैसा माग्ने गरेको जानकारी आएको छ । उनले मन्त्रीलाई कोट, बेल्ट, टाई र जुत्ता समेत आँफुले दिनुपर्ने भन्दै राष्ट्रिय गौरवका आयोजनाका ठेकेदार तथा परामर्शदाता कम्पनीहरुबाट पैसा उठाउने गरेको श्रोतले जानकारी दिएको छ ।

यद्दपी पोखरेल भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरिरहेका छन् ।

के भन्छन् राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदीप अधिकारी ? 

प्रदीप अधिकारी

मूल्यांकन समितिमा म हुँदिन तर मेरैअन्तर्गत भएकाले यसको जिम्मेवारी मैँले लिनुपर्छ । त्यो विषय के हो भने ६० भन्दा तल नम्बर आएको कम्पनीको नाम नै निस्किदैन । ६० कम फेल नै हुन्छ । ३ वटै कम्पनीको ६० भन्दा बढी नम्बर आएको हो । पुमोरी टिपिकल नम्बरमा बढी भएको साँचो हो । प्राविधिक नम्बर ८० प्रतिशतको र आर्थिक नम्बर २० नम्बरको हुन्छ । त्यो दुईटा जोड्दा जसले बढी नम्बर पाउँछ उसले काम पाउने हो । पुमोरीको बजेट लागत अनुमानभन्दा बढी आयो । अनुमानभन्दा बढी आएकाले त्यसलाई ठेक्का दिन सकिन्न । तर, अर्को कम्पनीको अनुमानभन्दा धेरै कम भएकाले अर्को कम्पनी छानिएको हो । कहीँकतै बाहिर आए जस्तो तलमाथि भएको छैन ।

मैले विभागीय मन्त्री, प्रधानमन्त्रीका सल्लाहकारलाई भाग लगाउनुपर्छ भनेर २० प्रतिशत मागेँ रे ? यो आरोप निराधार हो । यस्तो आरोप त बाटोमा हिँड्ने जसले पनि लगाइदिन सक्यो नि । म कम्पनीसँग भेटघाट नै गर्दिनँ । यो निराधार आरोप हो । कसैले फलानोले पैसा माग्यो भनेर आरोप लगायो रे, अनि सक्कियो ? मैँले त्यस्तो काम गरेको भए उहाँहरु कानूनी प्रक्रियामा किन जानुभएन ? आरोप लगाएर बस्ने होइन यसो हो भने उहाँहरु कानूनी प्रक्रियामा जान सक्नुहुन्छ ।

राजन पोखरेल

के भन्छन् नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेल ?

निजगढ विमानस्थलको गुरुयोजनाको लागि पहिले एउटा कम्पनी छनोटमा परेको थियो । दुई वर्षसम्म विमानस्थल निर्माणबारे निर्णय हुन नसकेपछि त्यो त्यसै स्थगित भयो । पछि विमानस्थल बन्ने भएपछि गुरुयोजना बनाउने निर्णय भयो । छनोटमा परेको कम्पनीको प्रस्ताव अनुमान गरिएको भन्दा कम भएको र अन्य कम्पनीको बढी भएका कारण बजेटभन्दा माथिको प्रस्तावलाई जिम्मेवारी दिन नमिल्ने भएपछि उक्त कम्पनीलाई कम प्रस्ताव गरेको कम्पनीलाई ठेक्का दिइएको हो ।

सूचना पहिले नै लिक भएको हो भने त्यो नहुनु पर्ने हो । यसबारे मलाई जानकारी भएन । यसमा मेरो पनि चासो थियो । तर, अन्य कम्पनीले अनुमानित बजेटभन्दा धेरै मूल्य प्रस्ताव गरेको भेटियो ।  यसमा गडबढ भएको हो भने प्रमाण खोजिरहेको छु, यदि त्यस्तो भेटियो भने म प्रक्रिया नै खारेज गरिदिन्छु ।