काठमाडौँ – प्राविधिक एवं व्यवस्थापकीय सुधारमा लागेको आयल निगमको चन्द्रागिरी ३ थानकोटस्थित बागमती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधारको पहिलो चरणको स्तरोन्नति सम्पन्न भएको छ । वि.सं. २०५८ देखि सञ्चालित उक्त परियोजनाअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


१०६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त डिपोमा डिजल आठ हजार ४०० किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमताका ट्याङ्कर निर्माण गरिएका छन् जसबाट दैनिक करीब ७०० किलोलिटर पेट्रोल, ९०० किलोलिटर डिजल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #


शनिवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका पूर्वाधारको एक विशेष कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री भट्टले निगमको व्यवस्थापकिय र प्राविधिक सुधारका लागि भण्डारण क्षमता वृद्धि गर्ने प्रतिवद्धता जनाए । उनले निगमको भण्डारण क्षमता वृद्धिका लागि सरकारी स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी दिए ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम सुधारका योजना लागू भएको र आगामी दिनमा थप परिणामहरु देखिदै जाने बताए । उनले भने, ‘आधुनिक प्रविधिको प्रयोग गरेर निगमलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त कम्पनीका रुपमा विकशित गरिनेछ ।’

उक्त कार्यक्रममा मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष दिनेश भट्टराई, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम, नेपाल सरकारका सह(सचिव एवं निगम संचालक समितिका पदाधिकारी, निगमका कार्यकारी निर्देशक, निगमका नायव कार्यकारी निर्देशक, निर्देशकहरु तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका अध्यक्ष, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष,बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष,काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।