– रामेश्वर श्रेष्ठ

प्रमुख, महालक्ष्मी नगरपालिका

ललितपुर

महालक्ष्मी नगरपालिकामा नयाँ के के शुरुवात भएका छन्, अहिलेको पछिल्लो गतिविधि के छ ?


ADVERTISEMENT


महालक्ष्मी नगरपालिकाले हाल आफ्नो नगरभित्रको भौतिक पूर्वाधारतर्फको विकासका लागि विशेषगरी सडक विस्तार, सडक पूर्वाधारको स्तरोन्नत्ति र कालोपत्रेको काम द्रूत गतिमा अघि बढाईएको छ । यसैगरी ढल व्यवस्थापनको काम निकै अगाडि बढेको छ । खानेपानीको काम तीव्र अघि बढेको छ, धेरै वडामा पाइप बिछाउने काम भइरहेको छ । यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघि बढिरहेका छौँ । सामुदायिक विद्यालयमा काम गर्ने सबै ईसीसीडी (प्रारम्भिक बाल विकास केन्द्र)मा काम गर्ने सबै शिक्षकलाई तालिम प्रदान गरिरहेका छौँ । निजी, सरकारी र गुठी विद्यालयका शिक्षकसँग निरन्तर अन्तरक्रिया गरिरहेका छौँ । यसरी नगरभित्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, पर्यटन, कला तथा संस्कृतिको संरक्षण लगायतका काम भइरहेको छ ।


ADVERTISEMENT

# # #


तपाई नेतृत्वमा आएपछि नगरमा के के कामहरु सम्पन्न भए ? 

मैले घोषणापत्रमा उल्लेख गरेका केही कामहरु पूरा भएका र अन्य पूरा हुने क्रममा छन् । म निर्वाचित भएर आइसकेपछि पूर्वाधारविहीन नगरपालिका भएकाले पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्छ भनेर योजना बनाएँ । त्यो अनुसार हरेक वडामा सडक स्तरोन्नति, बाटोको सिमांकन गर्ने र बाटोको अधिकार नगरसभामार्फत वडालाई नै दिएर काम गर्यौं ।

नगरसभामार्फत विकास निर्माणको लागि कुल पूँजीको ८० प्रतिशत पूर्वाधार र २० प्रतिशत मात्र सामाजिक कार्य लगायत अन्य क्षेत्रमा खर्च गर्ने नीतिगत निर्णय गर्यौं । त्यो निर्णयअनुसार पूर्वाधार क्षेत्रमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । हरेक वर्ष बाटो विस्तार, स्तरोन्नत्ति र कालोपत्रेको संख्या बढ्दै गएको छ । यो वर्ष मात्रै नगरपालिकाले १५ वटा लामा बाटाको कालोपत्रेका लागि टेन्डर गरेको छ ।

हाम्रो नगरपालिकामा यातायातको धेरै समस्या थियो । नगरका हरेक क्षेत्रमा यातायातको कठिनाइ थियो । हामीले तत्काल यातायात क्षेत्रमा सुधार ल्याउँछौँ भनेका थियौँ । जसअनुसार अहिले हरेक ठाउँबाट सहज सार्वजनिक यातायात चल्छ । यद्यपि, केही बाटोमा खाल्डाखुल्डी छन् । तर पनि सार्वजनिक यातायातको पहुँच सबै ठाउँमा पुगेको छ ।

अर्को, शिक्षामा व्यापक सुधार गर्नुपर्छ, उद्यमी जन्माउने, रोजगारी सिर्जना गर्ने शिक्षा हुनुपर्छ, बेरोजगार उत्पादन गर्ने शिक्षा हुनुहुँदैन भनेर हामी लागेका थियौँ । यसमा शिक्षालाई प्रमुख प्राथमिकता दिएको कारण म निर्वाचित भएर आइसकेपछि अहिले सामुदायिक विद्यालयको विद्यार्थीको संख्या झण्डै तीन गुणाले वृद्धि भएको अवस्था छ ।

कक्षा आठका लागि कानूनी प्रक्रिया पूरा गरेर स्थानीय पाठ्यपुस्तक बनाइसकेका छौँ । नयाँ अभ्यासका रुपमा सबै विद्यार्थीले प्रयोगात्मक गर्नुपर्छ भनेर अनिवार्य गरेका छौँ । शिक्षामा सबै विद्यार्थीलाई प्रयोगात्मक अनिवार्य गर्ने देशको पहिलो नगरपालिका महालक्ष्मी भएको छ ।

यसरी विद्यार्थीले गुणस्तरीय शिक्षा सिक्नुपर्छ, जे उनीहरुले सिक्छन् त्यसलाई गर्न सक्ने हुनुपर्छ, अनुहार हेरेर होइन, प्रयोगात्मक गराएर नम्बर दिनुपर्छ भनेर हामीले त्यसअनुसार शैक्षिक सुधार गरेका छौँ । हरेक महीनाको पहिलो साता शिक्षकलाई तालिम दिने गरेका छौँ । हरेक विद्यालयमा हामीले ४ वटा परीक्षा लिने गरेका छौँ । अहिले सामुदायिक र निजी विद्यालयको स्तरको तुलना गर्दा सामुदायिक विद्यालयको स्तर एकदमै राम्रो भएको छ र विद्यार्थी संख्या बढ्दो छ । सीटीईभीटीबाट हामीले व्यवसायिक प्राविधिक विद्यालय ल्याउँछौँ भनेका थियौँ, अहिलेसम्म ५ वटा यस्ता विद्यालय सञ्चालमा ल्याइसकेका छौँ ।

स्वास्थ्यको कुरा गर्नुपर्दा हाम्रो नगरपालिकाभित्र ४ वटा स्वास्थ्य चौकी र एउटा पीएसी थियो । पीएसीको स्तरोन्नत्ति गर्छौं भनेकोमा स्तरोन्नतिका क्रममा हामीले उक्त पीएसीमा डेन्टल क्याम्प राखेका छौँ, व्यवस्थित ल्याब बनाएका छौँ, कन्सल्टेन्टको सेवा दिएका छौँ र दैनिक रुपमा अहिले डेढ सयले सेवा लिइरहेका छन् । आमाको गर्भमै हुँदा समस्या भएर जन्मिदा जोखिमपूर्ण अवस्थामा जन्मिने बच्चाहरुका लागि पनि हामीले उपचारको व्यवस्था गरेका छौँ ।

सबैभन्दा राम्रो कुरा के छ भने हामीले हाम्रो नगरपालिकामा कहिल्यै पनि औषधिको अभाव हुन दिएका छैनौँ । सरकारले निःशुल्क उपलब्ध गराउने औषधि हामीले अभाव हुन दिन्नौँ भनेका थियौँ, आजको दिनसम्म अभाव हुन दिएका छैनौँ । जेष्ठ नागरिक, जसलाई अस्पताल पुर्याउने मान्छे कोही छैन, उपचार गर्न सक्ने अवस्था छैन भने हामीले घरमै पुगेर उपचारको सेवा दिने व्यवस्था मिलाएका छौँ ।

किष्ट अस्पतालसँग सहकार्य गरेका छौं । यस नगरभित्रका सबै नागरिकले किष्टबाट पाउने उपचारमा १५ प्रतिशत छूट पाउनुहुन्छ । हामी निर्वाचित हुनु पहिले १० मध्ये ५ वटा वडाले मात्र स्वास्थ्य सेवा दिइरहेका थिए भने अहिले हामीले सबै वडामा सिटी क्लिनिक स्थापना गरेर सेवा दिइरहेका छौँ ।

यस नगरमा सबैभन्दा बढी पानीको समस्या थियो । एडीबीसँग सहकार्य गरी रोशी खोलाको पानी ल्याएर वितरण गर्ने योजना हामीले बनाएका थियौँ, तर खोला सुक्यो । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकामा मेलम्चीको खानेपानी वितरण गर्ने कार्यक्षेत्र भएपनि हाम्रो नगरपालिका त्यसअन्तर्गत थिएन । खोला सुकेपछि हामीले जसरी पनि पानी उपलब्ध गराउनुपर्छ भनेर हाम्रो नगरपालिकालाई पनि उक्त कार्यक्षेत्र भित्र समावेश गरायौँ । अहिले १, २, ३, ४ र ५ वडाको डीपीआरको काम सकिएकोमा बाँकी वडाको काम गरिरहेका छौँ ।

भूकम्पपछि पुरातत्व विभागले हाम्रो नगरपालिकामा सुको पैसा पनि खर्च गरिरहेको अवस्था थिएन । तर हामीले बजेटबाट पनि र केन्द्र सरकारबाट पनि सम्पदा संरक्षण गर्न पहल गर्छौं भनेका थियौँ । जसअनुसार अहिले पर्यटन मन्त्रालयले पुरातत्व विभाग अन्तर्गत यस वर्ष करीब ३ अर्ब रकम बजेट विनियोजन गरेको छ । यो गत वर्ष पनि थियो । कला संस्कृति, लोपोन्मुख बाजागाजा संरक्षणका लागि पनि नगरपालिकाले बजेट विनियोजन गरेको छ । यसरी नगरभित्रको शिक्षा, स्वास्थ्य, ढल व्यवस्थापन, खानेपानी, पूर्वाधारका साथसाथै हाम्रा सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्नका लागि काम गरिरहेका छौँ ।

युवालाई रोजगार बनाउनुपर्छ, हरेक चीज उत्पादनसँग जोड्नुपर्छ भनेर हामी लागेका छौं, त्यसअनुसार नगरपालिकाले दिने हरेक तालिमहरु त्यस किसिमको नतिजा आउने गरी मात्र दिइरहेका छौँ । यो वर्षबाट नगरप्रमुख उद्यमशील कार्यक्रम अन्तर्गत ५० लाख रकम छुट्टाएका छौँ । उद्यम गर्न चाहनेको सूचि बनाएर पूँजीसहित तालिम दिएर सीप सिकाएर उद्यमी बनाउने गरेका छौँ । यही वर्षदेखि वाणिज्य बैंकसँग सरल कर्जाको ‘एमओयू’ गरेका छौँ । नगरभित्र उद्यम गर्न चाहनेले सरल कर्जा लिनसकिने सुविधा मिलाएका छौँ । लाकुरी भन्ज्याङलाई पर्यटकीय गन्तव्य बनाउने गरी काम गरिरहका छौँ । चुनावी घोषणापत्रमा जे प्रतिवद्धता हामीले गरेका थियौँ तिनको एकपछि अर्कोगरी क्रमशः काम अघि बढाएका छौँ ।

बाँकी कार्यकालमा नगरपालिकालाई बदल्ने गरी बनाएका थप योजनाहरु के छन् ? 

निर्वाचनको क्रममा मैले भनेको एउटा कुरा पूरा गर्न सकेको छैन, जसलाई आगामी दिनमा अघि बढाउने सोचेको छु । महालक्ष्मी नगरपालिकाको सर्वेक्षण गरेर निर्वाचित हुँदाको अवस्था र कार्यकाल अवधिमा म यस्तो बनाउँछु भनेर गुरुयोजना बनाएर अघि बढ्ने योजना मेरो थियो । तर गुरुयोजना बनाउन र सर्वेक्षण गर्न असाध्यै धेरै लागत लाग्ने, हाम्रो दक्षता नभएको र परामर्शदाता ल्याउनुपर्ने अवस्था थियो । परामर्शदाता ल्याउँदा कुल विकास खर्चको २० प्रतिशत त्यसैमा मात्र खर्च हुने अवस्था भयो । यो अवस्थाका कारण त्यो काम मैले गर्न सकिनँ । किनभने हाम्रो नगरपालिकाको पहिलो वर्षको विकास बजेट १० करोड हो, जसमा सर्वेक्षण गरी गुरुयोजना बनाउनै करोड बढी लाग्ने देखियो । विकासका लागि डकुमेन्टेसन महत्वपूर्ण भएपनि तत्काल जनतालाई विकास चाहिएकाले हामीले दोस्रो विकल्पमा काम गर्यौं ।

सडक, ढल, खानेपानी जस्ता प्राथमिक विषयहरु भएकाले मैले पनि यिनै विषयलाई प्राथमिकता दिएर काम गरेँ । भौतिक पूर्वाधारतर्फ जम्मा बजेट खर्च गर्यौं । नगरपालिकाको अर्को काम भनेको पहिलो पाँच वर्ष नगरपालिकालाई यहाँ पुर्याउँछौँ भन्दा पनि महालक्ष्मी नगरपालिका बनाउने कामको जग खन्ने भन्ने हो ।

जसअन्तर्गत अहिलेसम्म हामीले लगभग ५० वटा ऐन, कानून, नियमावली बनायौँ । प्रदेश र केन्द्र सरकारले नबनाएको शिक्षा ऐन समेत बनाएर हामीले नगरभित्रको शिक्षालाई नियमन गरिरहेका छौँ । भोलि प्रदेश र केन्द्रले बनाउँदा बूँदा बाँझियो भने बदर हुन्छ, तर अहिले आवश्यक थियो र तत्कालका लागि हामी शिक्षा ऐन बनाएर अघि बढ्यौँ ।

यो स्तरमा नगरपालिकालाई पुर्याउँछु भन्दा पनि यतिबेला नगरपालिकामा कुनैपनि चीजको अभाव हुन नदिने गरी काम हामीले गरिरहेका छौँ । रोजगारी सिर्जना गर्ने, उद्यमी बनाउनेतर्फ हामी केन्द्रित छौँ । नगरबाट विदेश जानेलाई स्वदेशमै रोजगारी प्रदान गर्न सक्नु पनि यतिबेला ठूलो उपलब्धि हुने हामीले ठानेका छौँ ।

जतिपनि अहिले जनशक्ति बाहिरिरहेको छ त्यसलाई घटाउन सकियो भने पनि नगरपालिकाको उपलब्धि हुन्छ । नगरभित्र उत्पादनमूलक कार्यक्रममा जोड्न नसकेमा समृद्धि सम्भव छैन भनेर हामी लागी परेका छौँ ।

महालक्ष्मी नगरपालिकामा सेवाका हिसाबले जनताको पहुँच कस्तो छ ?

महालक्ष्मी नगरपालिकामा सेवाग्राहीको पहुँच असाध्यै सहज र सरल छ । कुनै किसिमका अप्ठ्यारा छैनन् । यदि कुनै अप्ठ्यारो भएमा सोझै नगरप्रमुखलाई सम्पर्क गर्न भनेको छु । जसकारण सबै वडामा सेवा एकदमै सहज, सजिलो र चाँडो छ । सुशासन कायम गर्ने र भ्रष्टाचारसम्बन्धी शून्य सहनशीलतामा आधारित भएर हामी अघि बढेका छौँ । हाम्रा हरेक गतिविधिहरु हामी वेबसाइट र फेसबुक पेजमा राख्छौँ । के सेवा कतिबेला कहाँबाट लिने भनेर पनि जानकारी गराएका छौँ । त्यसैगरी विकास निर्माणका काममा समेत उपभोक्ताहरुलाई सहज होस् भनेर उपभोक्ता समितिले शुरुदेखि काम सम्पन्न भई भुक्तानी होउन्जेलसम्मको विषय समेटेर एउटा पुस्तक निकालेका छौँ । यो अभ्यास देशभरका नगरपालिकाहरुमा नै पहिलो हुनुपर्छ । यसले काममा गडबढी देखियो भने पनि अलिकति पढेलेखेको व्यक्तिले समेत के कुरा कतिबेला गडबढी हुँदैछ भनेर सजिलै बुझ्न सक्छ । अनि सहज रुपमा सेवा लिने वातावरण बन्छ ।

काठमाडौँ उपत्यकाको जनसंख्या उच्च छ, अझै बढ्दै पनि छ । घना बस्तीहरु थपिने क्रममा छ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले घना बस्तीलाई व्यवस्थित बनाउन कस्तो नीति अपनाइरहेको छ ?

२०६८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकाको जनसंख्या ६२ हजार १ सय ७२ हो । अहिले हामीले तथ्यांक संकलन गरेका छौँ, २ लाख ५० हजार बढी मानिस यो नगरपालिकामा बस्छन् । ती सबैलाई हामीले सेवा प्रदान गर्नुपर्छ । त्यसकारण सीमित बजेटलाई असीमित क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

भूगोल र जनसंख्यालाई हेरेर बजेट आउने हो । अहिले बजेट ६२ हजारका लागि आउँछ तर त्यसलाई साढे दुई लाखसम्म पुग्ने गरी व्यवस्थापन गर्नुछ । मैले अघि नै भनेँ की बजेट अभावका कारण विस्तृत गुरुयोजना बनाएर नगरपालिकाको सर्वेक्षण गर्ने योजना भएपनि त्यो सकेनौँ ।

हामी निर्वाचित हुनु अगाडि नै नीति बनाएर यो ठाउँमा बस्ती बसाउने, यो ठाउँमा विद्यालय, यो ठाउँमा अस्पताल बनाउने भनेर पहिचान भएको हुन्थ्यो भने काम गर्न सजिलो हुन्थ्यो । त्यो नगरिएका कारण हामी आइसक्दाखेरि घना अव्यवस्थित बस्ती विकास भइसकेको थियो । आज नीति बनाएर त्यसअनुसार काम गर्न सक्ने अवस्था पनि छैन ।

अहिले हाम्रो नगरपालिकाका बस्तीका लागि प्लानिङ बनाएर ल्याउँदा अनिवार्य अगाडि २० फिटको भित्री बाटो हुनुपर्ने, फोहोर व्यवस्थापन गर्ने ठाउँ, खुला ठाउँ, स्कूल, खानेपानीको व्यवस्थापन लगायतका मापदण्ड बनाएका छौँ । कोही वस्ती बसाउने योजना बनाएर आए हामीले यी मापदण्ड अपनाएर दिने भनेका छौँ, तर अहिले नयाँ वस्ती बसाउने योजना बनाएर त्यस्तो कोही आएको भने छैन । घरको मापदण्ड, टुक्राटाक्री प्लटिङका लागि पनि मापदण्ड बनाएका छौँ ।

अन्तिममा नगरपालिका, सबै वडा र आम नगरवासीलाई के भन्नुहुन्छ ?

जुन विश्वास गरेर उहाँहरुले मलाई यहाँ पठाउनुभयो, मैले उहाँहरुलाई गरेका प्रतिवद्धता अनुसार काम गरिरहेको छु । बाँकी काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु । सकारात्मक आलोचना, सल्लाह, सुझावसहित साथ दिइरहनुभएको छ; त्यसका लागि कृतज्ञ छु । सुशासन कायम गरी, भ्रष्टाचारमा शून्य सहनशील भएर निरन्तर खटिईरहने प्रतिवद्धता गर्दछु ।