दमक– झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढी देखिएको हो ।


ADVERTISEMENT


दमक उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार, कोरोना सङ्क्रमणबीच चालू आर्थिक वर्ष २०७७/०७८ को आठ महिनाका अवधिमा मात्रै १४० नयाँ व्यावसायिक फार्म दर्ता भएका छन् । तीमध्ये ७५ प्रतिशत बढी महिलाका नाममा दर्ता भएका छन् ।


ADVERTISEMENT

# # #


सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले कोभिडपछि पछिल्लो समय विस्तारै पुरानै लयमा आर्थिक चलायमान बन्दै गएपछि दमकमा नयाँ व्यवसायमा महिलाको आर्कषण बढ्दै गएको बताए । कानूनीरुपमै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको तथ्य यसबाट प्रष्ट भएको अध्यक्ष श्रेष्ठको बुझाइ छ । नीतिगतरुपमा समेत महिला उद्यमी व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाको नीतिका कारण पनि व्यावसायिक फार्म महिलाका नाममा सञ्चालन हुने क्रम बढेको हुनसक्ने श्रेष्ठ बताउँछन् ।

थपिएका फार्ममा अधिकांश होटल तथा खाजा घरसँगै फेन्सी तथा शृङ्गारका साधन, किरानालगायत व्यवसाय थपिएका सङ्घका कर्मचारी प्रकाश दाहालको भनाई छ । उनका अनुसार, चालू आवमा हालसम्म सङ्घका सदस्यका रुपमा रहेका कूल ६२४ व्यावसायिक फार्म नवीकरण भएका छन् । सङ्घले १४० नयाँ फार्म दर्ता गरेबापत कूल रु एक लाख २५ हजार र ६२४ फार्म नवीकरण गरेबापत कूल रु दुई लाख २४ हजार शुल्क सङ्कलन गरेको छ ।

सङ्घले विश्वभर फैलिएको कोरोना महामारीका कारण नोक्सानी व्यहोरेका व्यवसायीलाई राज्यले दिने सेवासुविधा राज्यकै नीतिमा निर्भर रहने भए पनि सङ्घले आफ्ना सदस्यलाई नवीकरण शुल्कमा छुट दिएको छ । सङ्घले कोरोना महामारीका कारण गत पुस मसान्तभित्र सदस्यता नवीकरण गर्न आउने सदस्यलाई विलम्ब शुल्क नलिएको सङ्घले जनाएको छ ।

सङ्घले आगामी असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने व्यवसायीलाई लिँदै आएको नवीकरण शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको तृतीय उपाध्यक्ष रमा सुब्बाले बताइन् । रासस