महिलाहरु आधा आकाश हुन् भनिन्छ । तर यथार्थमा सृष्टि चलाउने पूर्ण हिस्सा बोक्ने देवीहरु हुन् महिला । आमा, छोरी, श्रीमती, बुहारी जस्ता भूमिका निभाउने महिलाहरु प्रेरणादायी नारी शक्तिका स्वरुप समेत हुन् । माया, प्रेम, करुणाका खानी, घर व्यवहार सञ्चालनका कुशल व्यवस्थापक, शिक्षा संस्कार र शिपका मुहान, सामाजिक व्यवस्थाका आधारस्तम्भ, न्यायकी प्रतिमूर्ती तथा व्यवशायिक लगनशीलता र ईमान्दारिताकी उदाहरण हुन् महिला । जसरी प्रकृति आफैंमा सिकाई र चेतनाको सम्पूर्ण श्रोत हो त्यसरी नै महिलाहरु ब्रम्हाण्डका सुन्दर अस्तित्व हुन् ।


ADVERTISEMENT


माता पार्वतीको ईच्छामा भगवान शिवले रचना गरेको देश हो नेपाल भन्ने मान्यता छ । हिमाल, पहाड र तराईको भूगोल सहितको यो देश विश्वकै लागि तपोभूमि हो, जहाँबाट ऋषिमूनीहरुले तपस्या पश्चात ज्ञान आर्जन गरी विश्वलाई मार्गनिर्देशन गरेका छन् । यही भूमिमा जन्मेका जनकपुत्री सीतादेखि भृकुटी, योगमाया जस्ता नेपालका छोरीहरु विश्वकै लागि प्रेरणादायी छन् ।  ८ मार्च अर्थात अन्तराष्ट्रिय महिला दिवशको सन्दर्भमा वर्तमान समयमा समेत समाज र देशका लागि योगदान दिँदै उदाहरणीय परिचय स्थापित गरिरहेका १० महिलाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।


ADVERTISEMENT

# # #


विद्यादेवी भण्डारी

नेपालमा चर्चाको शिखरमा रहिरहने महिलाहरुको नाममध्ये विद्यादेवी भण्डारी सँधै अग्र स्थानमा आउँछ । विद्यादेवी भण्डारी अर्थात् नेपालको दोस्रो तथा नेपालकै प्रथम महिला राष्ट्रपति हुन् । उनी दुई पटक राष्ट्रपति पदमा पुग्ने पहिलो भाग्यमानी महिला पनि हुन ।

तत्कालीन नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीकी श्रीमतीसमेत रहेकी भण्डारी यसअघि जनसंख्या तथा वातावरण र रक्षामन्त्रीसमेत भएकी थिइन् ।

सुशिला कार्की

सुशिला कार्की नेपालको प्रथम महिला प्रधानन्यायाधीश हुन् । उनले सर्वोच्च अदालतमा २०७३ असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेकी थिइन् ।

आफ्नो सेवाअवधिभर उनी न्यायिक क्षेत्रकी निर्भक महिला न्यायाधीशका रूपमा चर्चित थिइन् । सेवा अवकासपछि पनि उनी समाजमा हुने वेथिती, विसंगतीविरुद्ध तिखो रुपमा प्रस्तुत हुँदै आएकी छन् ।

अनुराधा कोइराला

चेलिबेटी बेचबिखनविरुद्ध योगदानरत अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान बापत सीएनएन हिरोका रुपमा समेत पुरस्कृत कोइरालालाई ‘नेपालकी मदर टेरेसा’का नामले समेत चिनिन्छ ।

उनलाई सन् २०१७ मा भारको प्रतिष्ठित पद्मश्री अर्वाडबाट तत्कालीन भारतीय राष्ट्रपति पर्णव मुखर्जीले समेत सम्मान गरेका थिए । कोइराला देश संघीयतामा गएपछि २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म प्रदेश ३ को प्रमुख बन्ने पहिलो महिला प्रदेश प्रमुखसमेत बनेकी थिइन् ।

कोइराला अझै पनि माइती नेपालका माध्यामबाट समाजसेवामा सक्रिय छिन् ।

सपना रोका मगर

यस वर्ष सबैभन्दा बढी चर्चामा कमाउन सफल नाम हो सपना रोका मगर । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा परिन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । कोरोना भाइरस (कोभिड–१९)को लकडाउनका बेला निःशुल्क खाना खुवाउनमा समेत सक्रिय भएकी थिइन् ।

सुजाता कोईराला 

पूर्वउपप्रधानमन्त्री समेत भइसकेकी  प्रभावशाली महिला नेतृ कोईराला पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाकी छोरी हुन् । परराष्ट्रमन्त्रालयको जिम्मेवारी बहन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित नेतृ हुन् सुजाता कोईराला । उनी हाल संविधान निर्माण पश्चात बनेको संघीय संसदकी सांसद हुन् ।

महिला तथा युवाहरुका मुद्धाहरुलाई उठाउँदै नीति निर्माण तथा कार्यान्वयनको पक्षसम्म पनि लागिरहने महिलामध्ये उनी पनि एक हुन् । सहमति, सहकार्य र एकताबाट विकास र समृद्धिको लक्ष्यमा पुग्नुपर्छ भन्ने स्पष्ट विचारकी कोईराला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

उनी गिरिजाप्रसाद कोईराला स्मृतिमा स्थापित जीपी फाउन्डेसनका माध्यमबाट देश विदेशमा सामाजिक अभियन्ताका रुपमा सक्रिय सक्रिय छन् ।

अनुपमा खुञ्जेली

अनुपमा मेघा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । उनी ‘क’ वर्गको बाणिज्य बैंककी पहिलो महिला सीईओ हुन् ।

तीन दशक अघिबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको जुनियर तह हुँदै बैंकिड यात्रा सुरु गरेकी उनी बैंकको पहिलो कार्यकारी तहमा पुग्ने पहिलो महिला हुन् । सोच ठूलो हुनुपर्छ र मानिस चाहिँ सामान्य हुनुपर्छ भन्ने सोच राख्ने उनी लाखौं युवा तथा महिलाहरुका लागि प्रेरणादायी महिला हुन् ।

भगवती चौधरी

पूर्व वनराज्यमन्त्री चौधरी वित्तीय संस्थाकी पहिलो महिला अध्यक्ष हुन् । सामाजिक आर्थिक उत्थान तथा गरिवी निवारणका क्षेत्रमा मेहनतरत प्रेरणादायी महिला । राजनीतिक जीवनमा समेत एक बौद्धिक, शिक्षित तथा क्षमतावान नेतृका रूपमा उनी चिनिन्छन् ।

फरवार्ड कम्युनीटी माईक्रोफाईनान्स वित्तीय संस्था लि. र फरवार्ड बचत तथा ऋण सहकारी संस्था लि. की प्रथम महिला अध्यक्ष हुन् भगवती । उनी फरवार्ड ईन्टरप्राईजेज प्रा. ली., ग्रामीण महिला उत्सुकता विकास मंच (फरवार्डं) की एक्जुकेटिभ डाइरेक्टर हुन् ।

२०४८ मा तत्कालिन नेकपा एमालेको साधारण पार्टी सदस्यबाट राजनीतिक यात्रा सुरु । २०५८ मा नेकपा सक्रिय संगठित सदस्य बनेकी थिइन् । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाको सदस्य तथा कोषाध्यक्ष । ३० भन्दा बढी देशको भ्रमण गरेकी उनले समाजशास्त्रमा एमए, व्यवस्थापनमा एमबीएस अध्ययन गरेकी छन् ।

उनी लघुवित्त छाता संगठन सदस्य तथा अन्तराष्ट्रिय लघुवित सम्मेलनको समेत सदस्य हुन् ।

झमक घिमिरे

आत्मकथा जीवन काँडा की फूल मार्फत नेपाली साहित्यमा मदन पुरस्कार बिजेता हुन् झमक । फरक शारीरिक क्षमता भएकी उनी अद्भुत लेखन शक्तिकी प्रतिभा हुन् । औपचारिक शिक्षा नपाए पनि खुट्टाले लेखेरै नेपाली साहित्यकी चम्किलो तारा बनेकी छन् उनी । झमकको जीवनमा आधारित चलचित्र समेत निर्माण भएको छ ।

उनको जीवन र संघर्षलाई मानव जीवनकै उदाहरणीय प्रेरणाका रुपमा लिईन्छ । उनको विचार र लेखनको नेपाली समाजमा शक्तिशाली प्रभाव छ ।

गौरिका सिंह

१८ वर्षीया चर्चित नेपाली पौडीबाज हुन् । उनले ८ वर्षको कलिलो उमेरबाट पौडीलाई आफ्नो पेशागत जीवन बनाइन् । गौरिका सन् २०१६ को रियो ओलम्पिकमा सहभागी विश्वकै सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । त्यहाँ उनले एक सिल्भर मेडल र तीनवटा ब्रोन्ज मेडल जितेकी थिइन् ।

गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडितर्फ नेपालका लागि ४ स्वर्ण सहित ९ वटा पदक हाँसिल गरेकी थिइन् । राष्ट्रिय प्रतियोगितामा गौरिकाका थुप्रै रेकर्डहरु रहेका छन् ।

२०५२ को एसएलसी परिक्षाकी बोर्ड प्रथम बनेकी गरिमा राणाकी छोरी हुन् गौरिका ।

लक्की शेर्पा

सिंगो हिमाली समुदायबाट पहिलो र आदिवासी जनजाती महिलाहरुको तर्फबाट समेत पहिलो महिला राजदूत बन्ने सौभाग्य लक्की शेर्पालाई प्राप्त भयो । नेपालको पहिलो संविधानसभाकी सदस्य समेत हुन् उनी ।

संविधान निर्माणको शिलशिलामा राज्य पुर्नसंरचना तथा राज्य शक्त्तिको बाडफाड समितिको सदस्य । पहिचानको पाच आधार र सामर्थ्यको चार आधारमा राज्य पुर्नसंरचनाको खाका प्रस्तुत गर्ने पहिलो महिला ।

संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय महिला सम्मेलनमा विश्व आदिवासी महिला संस्थाबाट प्रदान गर्ने मेड्रे पुरस्कार पाउने पहिलो नेपाली महिला हुन् शेर्पा ।