गलेश्वर– नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका ८ सङ्गमचोक निवासी उनको आज बिहान काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


ADVERTISEMENT


अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको कांग्रेस म्याग्दीले जनाएको छ । गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत भएका उनले मुटुसम्बन्धी रोगको औषधि सेवन गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार, खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात थिए । एक समय बेनीको प्रकाश माविका शिक्षकको पदभार समेत सम्हालेका उनका एक छोरा र एक छोरी छन् । खड्काकी श्रीमतीको २०६१ सालमा नै निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् उनी नेताका रुपमा जिल्लामा सुपरिचित थिए।

पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन् । रासस