काठमाडौँ – सन् २०२१ मा सञ्चालन गरिने आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरिएको छ ।


ADVERTISEMENT


विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् । विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


सोअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन् । ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा चैत २८,२०७७ (अप्रिल १०, २०२१) शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने छ ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने सोसाइटीले जनाएको छ । यसैगरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ ।