चितवन– जिल्लाका पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथा सङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले आज विज्ञप्ति जारी गरी जनाएको हो ।


ADVERTISEMENT


प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा एक वर्षमा तेस्रोपटक पुस्तक प्रकाशन गर्न लेखकसँग लिखित सहमति भएको जनाइएको छ । कथा सङ्ग्रहको तेस्रो संस्करणको आवरण नयाँ कलरमा छापिने पनि प्रालिले जानाएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमाता कथा सङ्ग्रह २०७६ फागुन २६ गते पहिलोपटक प्रकाशन भएको हो । यसको दोस्रो संस्करण २०७७ असारमा प्रकाशन भएको थियो ।


ADVERTISEMENT

# # #


चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउन्ड टेबुल गसेफ हेटौँडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कुमाता कथा सङ्ग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले जनाएका छन् । पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकाले पाठकहरुले यसलाई मन पराई दिएको बताए ।

समाज सदियौँदेखिको जकडिएको पितृसत्तात्मक प्रवृत्तिलाई उधेन्ने काम कथामा भएको जनाउदै कथाकार पराजुलीले महिलाको पीडा, महिलामाथिको दमन, दुःख र शोषणको उजागर गराउनु कथा सङ्ग्रहको धेय भएको बताए । कुमाता कथा सङ्ग्रहमा १० वटा कथा समेटिएका छन् । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथामा समेटिएका छन् । कथाकार पराजुलीले कतिपय समाजमा देखिएका र नदेखिएका सत्यलाई उजागर गरिएको उल्लेख गरे ।

यस कथा सङ्ग्रहलाई देशका अन्य भागमा जस्तै चितवन र छिमेकी जिल्लाका पाठकले पनि मन पराएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बताउनुभयो । उनका अनुसार चितवन, मकवानपुर र नवलपरासीमा स्थानीय सङ्घसंस्थाले कार्यक्रमको आयोजना गरी पुस्तकको समीक्षा गरेका थिए । पछिल्लो समय साहित्यमा कलम चलाउन थालेका पराजुलीको कथा सङ्ग्रहसमेत प्रकाशनको तयारीमा छ । पराजुली विगत २२ वर्षदेखि चितवनमा रहेर गोरखापत्र दैनिकमा काम गर्दै आएका छन् । रासस