नारायण अभिकारी, चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो ।


ADVERTISEMENT


केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन । त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्‍याएको अनुमान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैँडा रहेका छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो गणनाले निकुञ्जमा ६०५ गैँडा रहेको जनाएता पनि यसका संख्या उचित रुपमा यकिन गर्नका लागि आउँदो चैत ९ गतेबाट गैँडा गणना गरिँदै छ । गणनापश्चात्, यकिन तथ्याङ्क आउने उनको भनाई छ । सानो ठाउँमा उच्च चाप रहेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् ।

सीमा क्षेत्रमा चुरे पहाड, खोला, जङ्गल र मानवबस्तीसमेत रहेको छ । बरालले नारायणी नदी हुँदै र चुरे पहाडबाट समेत गैँडा भारत जाने सम्भावना रहेको उल्लेख गरे । उनका अनुसार, नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैँडा फर्किन असम्भव छ । गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिनसमेत कठिन हुने उनले बताए । पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको बताउँदै उनले गैँडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने आफ्नो भनाई राखेका छन् । उनले भने; ‘भारतमा गैँडा जाने चिन्ता छ ।’

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल पनि सीमा क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउँछन् । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनुपर्ने कँडेलको भनाइ छ । उनले भने; ‘निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ ।’ राप्ती नदीमा भएको उत्खनन र नदीको पानी खेतीमा सिँचाइका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको उनले बताए ।

नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । यसबाट निकुञ्जका गैँडा पश्चिमतर्फ केन्द्रित भएको उनको भनाइ छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेर केही तल पुगेर उत्रिन सक्ने भए पनि सीमा क्षेत्रबाट बगेका गैँडा भने भारत पुग्ने गरेका छन् ।

कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैँडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याइएको थियो । तर, पछिल्लो समय भने भारतले समेत गैँडा फिर्ता दिन आनाकानी गर्दै आएको छ । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर पनि सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैँडाको सङ्ख्या बढेकाले भारत जाने सम्भावना पनि उच्च रहेको बताउँछन् । एक दिनमा गैँडा ४० किलोमिटरभन्दा बढी आवातजावत गर्ने भन्दै उनले पूर्वी क्षेत्रको हेटौँडा, रौतहट र सर्लाहीसम्म गैँडा पुग्ने गरेको बताए । ‘नेपाली क्षेत्रमा गएका गैँडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् तर भारत पुगेका भने आउन असम्भवजस्तै छ; उनले भने ।

नेपालकै विभिन्न ठाउँमा गैँडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । एउटा देशबाट अर्को देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भए पनि यहीँ उचित बासस्थानको व्यवस्थापन गर्न सके गैँडा भारत जानबाट रोकिने उनको तर्क छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैँडा भारत जान सक्ने बताए। बर्षातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उनको भनाइ छ ।

निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण बर्सेनि नदीमा गोही छोडिएको भए पनि सङ्ख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ । रासस