नवलपुर– प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरुआत गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट ११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई शैय्याको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो ।


ADVERTISEMENT


नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा दुई आकस्मिक श्यया थप गर्दै १५ शैय्याबाट बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए । अस्पतालले सेवा विस्तार गरेसँगै दुई चिकित्सक र २२ स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिने छन् । नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट नगर अस्पतालबाट जनस्वास्थ्य सेवाअन्तर्गत बालरोग, पोषण, महामारी नियन्त्रण व्यवस्थापन, खोपका कार्यक्रम, गाउँघर क्लिनिकलगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।

दुर्घटनाका घाइते बढी लाभान्वित हुने छन् । पूर्वपश्चिम राजमार्गको यस क्षेत्रमा बढी दुर्घटना हुने गरेको बताउँदे उनले भने; ‘हामीले यहाँ प्राथमिक उपचार दिएर थप उपचारका लागि भरतपुर पठाउन सक्ने अवस्थामा पुगेका छौँ । यसले दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि थप मद्दत पुग्छ ।’

नगर अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ । यस क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेकाले नगर अस्पतालबाट धेरैलाई लाभ पुग्ने उनको भनाइ छ । रासस