काठमाडौँ– पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् ।


ADVERTISEMENT


विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल÷राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा आज बैठकमा यस्तो निर्देशन दिइएको उनले सुनाए ।

विभागको निर्देशनमा रंगरोगन गरी भाइटीकाका दिन भक्तजनलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी अर्जुन कँडेलले बताए । रु एक करोड ४० लाखको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढेको पनि उनले बताए ।

यसअघि काठमाडौँ महानगरपालिकाले सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनःनिर्माण शुरु गरेपछि विभागले पुरातात्विक स्थलमा यस्ता सामग्री प्रयोग गर्न नपाउने भनी भत्काउन लगाएको थियो ।

परम्परागत निर्माण सामग्रीले बनेका सम्पदा हजारौँ वर्ष टिक्ने र सिमेन्ट प्रयोग भएको संरचना ७० वर्षभन्दा बढी नटिक्ने भएकाले आधुनिक निर्माण सामग्री पुनःनिर्माणमा रोक लगाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए ।

हाल विभागले नै बालगोपालेश्वर मन्दिर र रानीपोखरी पुनःनिर्माण गर्ने भने पनि भूकम्पको ३० महिना बितिसक्दा पनि अलपत्र छ । पानी भरिएर आकर्षक देखिने रानीपोखरी अहिले चौरमा परिणत भएको छ ।

गत असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने सम्झौता निर्माण व्यवसायीसँग भए पनि विभाग र काठमाडौँ महानगरपालिकाको विवादले काममा ढिलाइ भएको छ । हाल महानगरपालिकाले पुनःनिर्माणको डिजाइनको अध्ययन गरिरहेकाले काम हुन नसकेको निर्माण व्यवसायीको भनाइ छ ।

रानीपोखरी पुनःनिर्माणको लागत भने रु छ करोड २९ लाख छ । प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको थियो । तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरीबीचको बाल गोपालेश्वर मन्दिर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भाइटीका पर्व मनाउने स्थलका रुपमा स्थापित छ । यो मन्दिर वर्षमा एक दिन भाइटीकामा मात्र खुल्छ ।

विसं २०७२/७३ र यस वर्ष पनि मन्दिर भत्किएका कारण मूलढोकाबाटै पूजा एवं दर्शनको व्यवस्था गरिँदै आएको विभागले जनाएको छ ।