सानेबहादुर नेपाली, तनहुँ– अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।


ADVERTISEMENT


पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका ५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताउँछन् । उनका अनुसार, धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको छ ।


ADVERTISEMENT

# # #


‘पहिलापहिला गाउँका एक/दुई जना मात्रै विदेश जाने हुनाले फलानो लाहुरेको घर हो भनेर चिनिन्थ्यो, अहिले धेरै विदेश जान थालेपछि लाहुरे नभएको घर भेटाउनै गाह्रो; उनले सुनाए । व्यास नगरपालिका १ पोल्याङका उत्तम कैनीले गाउँ पुरुषविहीन बन्दै गएकाले पुरुषले गर्ने सबै कामकाज महिलाले नै गर्दै आएको छ ।

युवाहरु गाउँमा नभएकाले बुढापाका र केटाकेटी धेरै भेटिने गरेको छ । भेटिएका युवा शुक्लागण्डकी नगरपालिका ६ का विजय सुनारले पनि आफू विदेश जानको लागि राहदानी लिन आएको बताए । पलायन हुनुको बाध्यात्मक परिस्थिति सुनाउँदै उनले भने; ‘राजनीतिक माहोल ठिक छैन, भ्रष्टाचार रोक्न सकिएको छैन । जागिर खान पनि आफ्नो मान्छे छैनन्, एक पटक दुबई गएर आएँ, फेरि विदेश जाने सोचाइ बनाएको छु ।’

स्वदेशमा असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाइदिने उत्पादित वस्तुको बजारको सुनिश्चित नहुनेलगायतका समस्याले युवाको विदेश जाने मोह बढेको उनको भनाई छ । रोजगारीको गन्तव्य विदेश बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय राहदानी बनाउन आउने युवाको भीड बढ्न थालेको छ ।

दैनिक ३० देखि ३५ जना राहदानी बनाउन कार्यालयमा आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार, दैनिकरुपमा करीब पाँच जना महिला पनि वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् ।

परामर्श दिने क्रममा राहदानी लिन आउनेमध्ये अधिकांश खाडी मुलकमा काम गर्नका लागि जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस