कालीकोट– जिल्लाको खाँडाचक्र नगरपालिका ७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । पिलीलाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ ।


ADVERTISEMENT


‘फनबोर्ड’, ‘युनिसेफ’ र नगरपालिकाको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र ‘हुरेन्डेक’ कालीकोटको प्राविधिक सहयोगमा पिलीका दुईवटा खानेपानी योजना सम्पन्न भएपछि बस्तीमा सुरक्षित खानेपानी आपूर्ति हुँदै आएकाले सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


सुरक्षित खानेपानीयुक्त घोषणा भएको यो वडा कर्णाली प्रदेशको दोस्रो वडा हो । यसभन्दा अघि सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको थियो ।

‘मेजरपाखा खानेपानी आयोजना’ र ‘भेराखोला खानेपानी आयोजना’ सम्पन्न भएपश्चात् पिलीका १७५ घरधुरीमा सुरक्षित मिटरसहितका खानेपानीका धारा, जडान गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ ।

पिलीका बासिन्दाले खानेपानीको अभाव झेल्नु नपर्ने वडाध्यक्ष रजबहादुर मल्लले बताएका छन् । ‘धेरै चुनौतीबीच सुरक्षित पानी प्राप्त गर्ने अवस्था आएको छ; उनी भन्छन्; ‘खानेपानीको समस्या भएको ठाउँमा सुरक्षित तरिकाले स्थानीयवासीलाई खानेपानी पुर्‍याउनु ठूलो उपलब्धि हो ।’

स्थानीय सरकार र लगानीकर्ताको मनदेखिको सहकार्यले खानेपानीको समस्या हल गरिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘दुईवटा खानेपानीका आयोजना सम्पन्न गर्न रु. ७१ लाख ५० हजार खर्च भएको छ; उनले भने । यसअघि पिलीमा एक घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

गाउँमा खानेपानीको समस्या हुँदा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता अहिले हटेको र घरघरमै धाराको पानी प्रयोग गर्न पाएको स्थानीयवासीले बताए । रासस