विराटनगर- साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले बीएचएम २०८० ब्याच तथा बीबीए २०७९ ब्याचका विद्यार्थीलाई लक्षित गरी शुक्रबार बिदाइ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बीएचएम, बीबीए र एमबीए तहका गरी कुल १२५ जना विद्यार्थीलाई बिदाइ गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिए ।


ADVERTISEMENT

#
#


क्याम्पस प्रमुख केसीका अनुसार बिदाइ हुने विद्यार्थीमध्ये बीएचएमका ५० जना, बीबीएका ६० जना र एमबीएका १५ जना रहेका छन् । अध्ययन पूरा गरेका विद्यार्थीहरूको शैक्षिक यात्रालाई सम्मान गर्दै उनीहरूको आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा सास्थम कलेज प्रमुख विनय विष्णु केसी, क्याम्पस म्यानेजर महेश्वरप्रसाद सिंह, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, राजेश गुरुङ लगायत कलेजका प्राध्यापकहरू तथा प्रशासकहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको उद्घोषण रवि गणेशले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले कलेजमा अध्ययन गर्दाका अनुभव, सिकाइ तथा स्मरणीय क्षणहरूलाई सम्झँदै आफ्नो शैक्षिक यात्राको एक महत्वपूर्ण चरण पूरा गरेको अवसर साझा गरेका थिए । सो अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

आफुले अध्ययनको शिलशिलामा हाँसिल गरेको ज्ञान र सिपलाई आगामी समयमा जिवनमा पालना गर्न सो अवसरमा आग्रह गरिएको थियो । बिदाइ कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै अध्ययनपछिको नयाँ यात्राका लागि हौसला प्रदान गरेको विश्वास गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिए ।

साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) सन् २००१ मा स्थापना भएको शैक्षिक संस्था हो। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले पर्यटन, होटल व्यवस्थापन तथा व्यवसाय व्यवस्थापनसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ। कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्दै पर्यटन, आतिथ्य सत्कार तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।