काठमाडौँ– महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुदैँ आएकोमा अब त्यसलाई अन्यत्र सार्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र केहीको अन्तिम चरणमा रहेकाले खुलामञ्च खाली गर्न सहज भएको कामपाको भनाइ छ ।


ADVERTISEMENT

# # #


कामपाले एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो । अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको प्रवक्ता डङ्गोलको भनाइ छ ।

तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिनेछ । पाँच वर्षअघि बसपार्क रहेको स्थानमा हाल काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम भइरहेको छ । उक्त टावर निर्माणको कामले गति लिन नसक्दा स्थायीरूपमा बसर्पाक सञ्चालन गर्न समस्या भएको हो ।

उक्त टावर पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै शुरुआत भए पनि अहिलेसम्म निर्माणको काम सम्पन्न भइसकेको छैन । रासस