खेमराज गौतम,बागलुङ– जिल्लाको जैमिनी नगरपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको छ ।


ADVERTISEMENT


गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्स–रे सेवा नहुँदा सदरमुकाम धाउन पर्ने अवस्थालाई हेरेर जैमिनी नगरपालिकाले गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा सहज पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्स–रे गर्ने र गर्भजाँच गराउनेको सङ्ख्या न्यून रहेको भन्दै जैमिनी नगरपालिकाले गाउँमै पुगेर भिडियो एक्स–रे सेवा दिन थालेको छ ।

समयसमयमा भिडियो एक्स–रे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि जैमिनी नगरपालिकाले पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्स–रे शिविर सञ्चालन गर्न थालेको हो । जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनिता चालिसेले जैमिनीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्स–रे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्न थालेको बताइन् ।

नगरपालिकाले सङ्घीय सरकारको रु एक लाख र नगरको रु. दुई लाख गरी यस आर्थिक वर्षको असोज महिनादेखि नगरपालिकाका एक शहरी स्वास्थ्य क्लिनिक र आठ स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे शिविर सञ्चालन गर्न शुरु गरेको हो । पैँयुथन्थाप स्वास्थ्य चौकी, राङखानी स्वास्थ्य चौकी, छिस्ती स्वास्थ्य चौकी र नेपाने शहरी स्वास्थ्य क्लिनिकमा पहिलोपटक असोज र दोस्रोपटक पुस महिनामा भिडियो एक्स–रे शिविर सञ्चालन गरिएको चालिसेले जनाइन् । त्यसैगरी नगरपालिकाले जैदी स्वास्थ्य चौकी, अर्जेवा स्वास्थ्य चौकी, दमक स्वास्थ्य चौकी, सर्कुवा स्वास्थ्य चौकी र विनामारे स्वास्थ्य चौकीमा कार्तिक र माघ महिनामा दुईपटक शिविर सञ्चालन गरिसकेको छ ।

शिविरबाट हालसम्म २३३ जना महिलाले भिडियो एक्स–रे सेवा लिएको चालिसेको भनाइ छ । ‘भिडियो एक्स–रेको आवश्यक उपकरणसहित नगरपालिकाबाट एकजना तालीम प्राप्त नर्स स्वास्थ्य चौकीसम्म पुगेर शिविर सञ्चालन गर्दै आएका छौा; चालिसे भन्छिन्; ‘अन्य संयोजन स्वास्थ्य चौकीले गर्दै आएको छ, जसकारण अस्थायीरुपमा भए पनि स्वास्थ्य चौकीबाटै भिडियो एक्स–रे सेवा पाउँदा महिलालाई सहज भएको छ ।’ चालिसेका अनुसार, उक्त शिविर हरेका तीन–तीन महिनामा गाउँमै पुगेर गरिनेछ ।

गर्भवतीले तीनपटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार, जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक केशव आचार्यले बताए ।

उनका अनुसार, गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्स–रे गर्न अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने उनको भनाइ छ ।

तीन सन्तान जन्माउँदासम्म सदरमुकाम पुगेर एक/दुईपटक मात्रै भिडियो एक्स–रे गरेकी जैमिनी नगरपालिका–८ छिस्तीकी २९ वर्षीया याममाया थापाले चौथो सन्तान जन्माउँदा भने गाउँमै भिडियो एक्स–रे गर्न पाएको बताइन्। खुशी हुदैँ उनले भनिन्; ‘पहिलोपटक भिडियो एक्स–रे गर्नुपर्छ भन्ने थाहै थिएन, दोस्रो र तेस्रोपटक जानकारी भए पनि नजीक स्वास्थ्य संस्था नहुँदा धेरै गर्न सकिएन तर अहिले गाउँमै भिडियो एक्स–रे गर्न पाएँ ।’ रासस