काठमाडौँ – नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ । हिजो (बुधबार)देखि सुरु भएको दुई दिने भेला बिहीबार १७ बुँदे प्रस्ताव पास गर्दै सम्पन्न भएको हो ।


ADVERTISEMENT


भेलाले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गरेका एकलौटी निर्णयलाई फिर्ता लिन दबाब दिने निष्कर्ष निकालेको छ । यस्तै भेलाले नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यदिशा, जबजको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कार्यदिशालाई पुनर्पुष्टी गरेको नेता तथा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


उनले ओलीले नवौा महाधिवेशनको कार्यदिशालाई सही ढंगले पक्रिन नसकेको, तीन वटा नीति तथा कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र जबजको नीति अनुसार काम नगरेको निष्कर्ष निकालेको बताए । उनले पार्टीले अब नवौँ महाधिवेशनको कार्यदिशालाई बलिया ढंगले समाउने र अघि बढ्ने निर्णय गरेको छ ,

यस्तै भेलाले सर्वोच्चले पार्टी एकता भंग गरे पछि २०७५ जेठ २ गतेसम्म कायम रहेका संगठनलाई सक्रिय बनाइने, सर्वोच्चले नेकपा एमालेलाई ब्युँताएपछि ओली समूहले गरेका विशेष गरी फागनु २८ गतेका निर्णय खारेज गर्नुपर्ने विषयलाई आफ्नो मूल अडान राखेको छ ।

पार्टी अध्यक्ष ओलीले गत फागनु २८ गते बालुवाटारमा बसेको बैठकमार्फत एमालेका अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी खारेज गर्ने, माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेताहरुलाई केन्द्रीय सदस्य बनाउने, प्रदेश इन्चार्ज तोक्ने लगायतका निर्णय गरेको थियो ।

माधव समूहले पार्टी एकतालाई जोगाउनका लागि ती निर्णयहरु खारेज गर्नुपर्ने वा फिर्ता लिनु पर्ने बताउँदै आएको छ ।

यस्तै भेलाले आम जनता र कार्यकर्तालाई बुझाउन देशभर पार्टीका भेला, बैठक र अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि भेलामा उपस्थित नेता कार्यकर्ता र स्थानीय र प्रदेशका नेताकार्यकर्तालाई निर्देशन समेत दिएको नेता भट्टराईले जनाएका छन् ।