काठमाडौँ– नेपाल विद्यार्थी संगठनको आयोजनामा राष्ट्रिय रणनीतिक प्रशिक्षण आजदेखि सुरु भएको छ ।  नेविसंघले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउनका लागि आफ्ना देशभरका नेता कार्यकर्तालाई २ दिने प्रशिक्षण दिन लागेको हो ।


ADVERTISEMENT


राजधानीमा आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि ‘गाउँ ‘जाऔँ, नगर जाऔँ, जनता जगाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ प्रशिक्षण सुरु भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए । कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले काँग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए । “पार्टी संकटमा परेको छ यसलाई जोगाउन नेवि संघ एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,”– नेता पौडेलले भने ।

यस्तै केन्द्रीय सदस्य डा प्रकाशशरण महतले लोकतन्त्र बचाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेवि संघका अध्यक्ष नैनसिंह महर तथा महामन्त्री कुन्दनराज काफ्लेले काँग्रेस सरकारको समयमा नेपालको शिक्षा क्षेत्रले महत्वपूर्ण फड्को मारेको भन्दै मुलुकको समृद्धि पनि काँग्रेसले नै गर्ने बताए।

देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई काँग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेवि संघले जनाएको छ ।

प्रशिक्षणमा पछिल्लो पटक भएको बाम गठबन्धनले पार्न सक्ने प्रभाव र राजनीतिक धु्रविकरणका बारेमा प्रशिक्षण र छलफल हुनेछ ।