विकास बैँकर्स एशोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द ढकालसँग हिमालय पोष्टले बैँक तथा वित्तीय क्षेत्रका विविध विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सार:


ADVERTISEMENT


कोभिडको महामारी विस्तारै सहज हुँदै गएको छ । यस बेला वित्तीय कारोवार कसरी अघि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


कोभिडको जुन महामारी थियो, नेपालमा त्यसको प्रभाव अहिले धेरै कम भएको छ । विदेशतिर बढेर लकडाउन भइरहेको समाचार आइरहेको छ । तर हामी यसमा भाग्यमानी मान्ननुपर्छ कि महामारी नियन्त्रण भएको अवस्था छ । कोभिडका कारण अहिले पनि पर्यटन, ट्राभल एजेन्सी र होटल क्षेत्र अहिलेसम्म प्रभावित छ । तर, त्यो क्षेत्रबाहेक अन्य क्षेत्रमा गति लिएको छ, व्यवसाय चलायमान भएको छ । पछिल्लो ४-५ महिनामा जुन किसिमले कर्जाको प्रवाह भयो, यसले पनि अर्थतन्त्र अब चलायमान भएको छ है भन्ने देखाउँछ । बैंकहरुको सीडीएस ७० को हाराहारीमा भएकोमा अहिले ७८/७९ उद्योग क्षेत्रमै पुगिसकेको अवस्था छ । निक्षेप संकलन भन्दा लगानी बढी छ । अहिले अर्थतन्त्र सहज भएको हाम्रो बुझाइ छ । यसैगरी विकास बैंकहरूको पनि लगानी बढेको छ र अवस्था सहज भएको छ । अहिले विशेष सोच्नपर्ने क्षेत्र भनेको पर्यटन नै हो । आन्तरिक भन्दा पनि बाहिरबाट आउने पर्यटक केन्द्रित होटल एवं ट्राभल एजेन्सी व्यवसाय चलायमान बनाउन पहलकदमी गर्नुपर्ने देखिन्छ । त्यसबाहेक सिनेमा, नाटक घरदेखि अन्य उद्योग, विद्यालयदेखि सबै क्षेत्र चलेको अवस्था छ । र, अहिले विकास बैंक पनि धेरै हदसम्म पहिलेकै अवस्थामा फर्किसकेका छौँ । यसले गर्दा विकास बैंक पनि लगानी, बचत सबै व्यवसाय विस्तार भएको छ ।

वाणिज्य बैंकले आफ्नो हिसाबले काम गरिरहेका छन् । त्यो सँगसँगै विकास बैंकले पनि अहिले वाणिज्य बैंक जस्तै उत्तिकै अब्बलताका साथ काम गरिरहेको देखिन्छ । रफ्तार कसरी अगाडि बढिरहेको छ ?

राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजन गरेको छ । जसमध्ये ‘डी’ वर्गका संस्था अलि फरक भए पनि ‘ए’, ‘बी’ र ‘सी’मा कामका हिसाबले त्यति भिन्नता छैन । पूँजीको अवस्थाले मात्रै तलमाथि हो । वाणिज्य बैंकको अहिले तथ्यांक हामीले हेरिरहेका छौँ । जुन किसिमले बैकिङ क्षेत्र अगाडि बढिरहेको छ, त्यसअनुसार समग्र रुपमा विकास बैंक पनि अघि बढिरहेको छ । मध्यम वर्ग केन्द्रित भएकाले कोभिडपछि अझ हामीलाई सहज भएको महसुस हामीले गरिरहेका छौँ । कोभिडबाट प्रभावित नै छैन भन्ने होइन । तर, व्यवसाय विस्तारमा अहिले विकास बैंकहरुले नेपाल सरकार, राष्ट्र बैंकले ल्याएका कार्यक्रमहरुअन्तर्गत काम गरिरहेका छन् । महिला सहुलियत कर्जा होस्, बिना धितो कर्जादेखि जुनसकै सरकारका कार्यक्रममा अझ बढी सक्रियता देखाएर विकास बैंक अग्रणी देखिएका छन् । त्यसकारण ठूल्ठूलो कर्जाभन्दा स-सानो कर्जालाई बढी प्राथमिकतामा राखेका कारण हामीलाई सहज भएको छ । वाणिज्य बैंकहरुको हाइड्रो लगायतका ठूला योजनामा लगानी छ । तर, पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरुले १५ प्रतिशत लगानी १ करोडभन्दा कमको आयोजनामा गर्नैपर्ने प्रावधान ल्याएको छ । यसले हाम्रा ग्राहक बाध्य भएर त्यता जाने हुन् कि र अस्वस्थ प्रतिस्पर्धा बढ्ने हो कि भन्ने डर चाहिँ छ ।

विकास बैंकहरु वाणिज्य बैंककै तुलनामा काम गरिरहेका छन्, राज्यले हेर्ने नजर कस्तो छ ?

राज्यले हेर्ने कुरामा अहिलेसम्म खड्केको एउटै कुरा सरकारी खाताको विषय हो । विकास बैंकहरुले पनि सरकारी खाता खोल्न पाउनुपर्छ भनेर हामीहरुले विकास बैंकहरुको समग्र पूँजी वृद्धि भएसँगै उठाउँदै आएको माग हो । केही वर्षयता वाणिज्य बैंकको भन्दा राष्ट्रिय स्तरका विकास बैंकको पूँजी बढी छ । पूँजी, प्रविधि, व्यवसाय र क्षमताको हिसाबले हिजोका वाणिज्य बैंकको भन्दा आजका विकास बैंक विशिष्ट छन् । हामी कुनै पनि हिसाबले अगाडि छौँ । यसैलाई आधार मानेर विकास बैंकहरूले सरकारी खाता खोल्न पाउनुपर्छ भन्ने माग हामीले राखेका छौँ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका पदाधिकारीदेखि विभिन्न सरोकारवाला निकायसम्म हामीले आफ्ना कुराहरु राखेका छौँ । यसका बाबजुद हालसम्म पनि यसको सम्बोधन भएको छैन । यसबाहेक राज्यका क्रियाकलापमा हामीले सघाएर सहयोग पुर्याएका छौँ ।

यससम्बन्धमा बहस धेरै भइरहेको छ, कहाँसम्म पुगेको छ यो एजेण्डा ?

बहस धेरै भएको छ । जहाँ पुग्नुपर्ने हो पुगेको छ । तर, सुधार भएर आएको छैन । हामीले बुझाउनुपर्ने भन्दा पनि अहिलेसम्म किन सुधार भएन भनेर अब हामीले नै बुझ्नुपर्ने अवस्था आइसकेको छ । यसलाई सम्बोधन गर्छौँ भन्ने आश्वासन हामीले पाएका छौँ । यो हाम्रो दायित्व पनि हो । यसमा नेपाल राष्ट्र बैंकले अलिकति आफ्नो भूमिका निर्वाह गर्दागर्दै पनि सरकारी खाताका सम्बन्धमा लबिङ गरिदिन आग्रह गरिरहेका पनि छौँ । यसबाहेक अन्य विषयमा हामीले त्यस्तो असहजता महशुस गर्न परेको छैन ।

विकास बैँकर्स एशोसिएसनको नेतृत्वमा बसिरहँदा कस्तो अनुभव गर्नुभयो । विकास बैंकको भूमिका कस्तो पाउनुभयो ?

संघको कार्यकाल प्रायः दुई वर्षको मात्र हुने भएकाले कार्यकाल लामो भएको महसुस मैँले गरिरहेका छु । धेरै हुँदा फरक विचार हुने सम्भावना भएपनि यो बीचमा अहिले संख्याको हिसाबले १८/२० जना मात्र छौँ, जसकारण नेतृत्वमा जो भएपनि सबैसँग विस्तृत छलफल गरेर हामीले सर्वसम्मत निर्णय गर्ने गरेका छौँ । यो सबैभन्दा राम्रो र सबल पक्ष हो । हामी हरेक छलफल संस्थाको सुशासनबाट शुरु गर्छौँ । कुनै साथीले कमजोरी गर्नुभयो भने हामी एकअर्कालाई सुझाव दिन्छौँ । विकास बैंकले गल्ती गर्यो भन्ने मौका दिनुहुन्न भनेर हामी लागेका छौँ, संस्थाको सुशासनमा केन्द्रित भएर अघि बढ्छौँ । यसै कारणले पनि हो विगत दुई-चार वर्षयता विकास बैंकमा त्यस्तो विकृतिका कुनै पनि घटना देखिएको छैन । सञ्चालकले बुझिसक्नुभएको छ, बैंकको पूँजी जनताको सम्पत्ति हो भनेर । संस्थाभित्र आजसम्म कुनै विवाद भएको छैन, हामी प्रतिस्पर्धी हो तर कुनै एक बैंकको विकृतिको कुराले समग्र विकास बैंकलाई नै असर गर्छ भन्नेमा पूर्ण सचेत छौँ । यसैअनुसार हामी अघि बढिरहेका छौँ ।

विकास बैंकको अहिलेको खास अवस्था कस्तो छ ? राष्ट्रिय स्तरका बैंक वित्तीय बैंक बराबर भएको बताउनुभयो । क्षेत्रीय स्तरका बैंकको अवस्था कस्तो छ ? मर्जिङमा जानुपर्ने अवस्था कस्तो छ ?
अहिले ८ वटा राष्ट्रिय स्तरका विकास बैंक छन्, तिनमा कुनै समस्या छैन । क्षेत्रीय स्तरका बैंकमा अलिकति समस्या देखिन्छ । प्रादेशिक तहमा जानुपर्छ कि जस्तो मलाई लाग्छ । त्यो होइन भने त्यहाँका केन्द्रीय विकास बैंकसँग मिलेर जानुपर्छ । तर, अब विकास बैंक मर्जरमा जानुहुन्न, यो केन्द्रीय बैंकका उच्च पदस्थ व्यक्तिले पनि बुझ्नुभएको छ । अहिलेसम्म विकास बैंकलाई मर्जरका लागि बोलाएको पनि छैन, अब यो संख्या चाहिन्छ भनेर उहाँहरुले पनि बुझिसक्नुभएको छ । अहिलेसम्म राष्ट्र बैंकले वाणिज्य बैंक र ‘घ’ वर्गका लघुवित्तीय संस्थालाई मर्ज गर्न पहल गरेको छ । मर्जर आवश्यक पनि छ, यसलाई नराम्रो सोच्न हुन्न । राष्ट्र बैंकको नीतिपछि वाणिज्य बैंक बाध्य भएर ग्रामीण क्षेत्रमा गए पनि विकास बैंकहरु स्वतःस्फूर्त रुपमा ग्रामीण क्षेत्रमा गएर काम गरिरहेका छन् । प्रविधि र सेवाका हिसाबले सक्षम भइसकेको र विकास बैंकको प्राथमिकतामा मध्यम वर्ग र ग्रामिण क्षेत्रमा विकास बैंकको आवश्यकता महशुस भएको छ । यसले गर्दा विकास बैंकको भूमिका आवश्यकता बढी छ भनेर यो सबले बुझेको अवस्था छ । यसैले गर्दा राष्ट्र बैंकले मर्जरमा जानुपर्ने बताएको छैन र बैंकिङ विस्तारमा विकास बैंक जुन किसिमले लागिरहेका छन् मर्जरमा जानुपर्ने आवश्यकता छ जस्तो मलाई लाग्दैन ।

यसको मतलब मर्जमा नगईकनै अहिले भएका सबै विकास बैंक छन् सबै अगाडि जान सक्छन् ?

एकदमै । राष्ट्रिय स्तरको बैंकमा त कुनै समस्या नै छैन । क्षेत्रीय स्तरका बैंकको क्षेत्र सानो हुने भएकाले उनीहरु पूँजी वृद्धिका लागि प्रादेशिक रुपमा जानुपर्छ र आफ्नो बलियो भूमिका देखाउनुपर्छ भन्ने महसुस मैँले गरेको छु । ९० वटा बैंक हुँदा पनि हाम्रो वचत १२ प्रतिशत थियो र अहिले १८ वटा हुँदा पनि उत्तिकै छ । पोर्टफोलियो, शाखा, व्यवसायको हिसाबले विकास बैंकको पहिले ऋण, वचत लगायत सबै क्षेत्रमा जति पूँजी थियो अहिले पनि त्यो कायम छ । ९० वटा विकास बैंक १८ मा आउँदा पनि हाम्रो व्यवसायको स्तर उत्तिकै छ भनेपछि हामीले त्यसअनुसार विकास बैंक विस्तार गरिरहेको उदाहरण पनि हो यो । यो तथ्यांकले देखाउँछ ।

ग्रामिण क्षेत्रमा विकास बैंकको पहुँच राम्रो देखिन्छ, तथापि अझैँ पनि बैंकिङ सेवा सबैसम्म सहज तरिकाले पुगाउने योजना छ ?

२० प्रतिशत बैंकिङ सेवाभन्दा बाहिर । अब त्यो जनसंख्या पनि । बैंकको पहुँच बाहिर भएकालाई वित्तीय साक्षरता दिएर बैंकिङ पहुँच । वाणिज्य अलि फरक छ । वाणिज्यले राम्रो काम गरेको छ, दुई मत छैन । तर, वाणिज्य बैंकका लागि पनि विकास बैंकको आवश्यकता छ । ग्राहकलाई राम्रो बनाएका छौँ त्यहाँ जान पाउनुभएको छ ।

गरिमा विकास बैंकको अवस्था कस्तो छ ?

यहीँ बसेर हेर्दा पक्कै पनि राम्रो देखिन्छ । तर, यहाँ भएकै कारणले म हाम्रो सेवा राम्रो भनिरहेको छैन । समग्र रुपमा हामीले जुन काम गरेका छौँ त्यो उत्कृष्ट छ । हामीले हाम्रा कर्मचारीलाई पनि ग्राहकले कहिल्यै दुःख नपाउन्, सहज सुविधाको महशुस गरुन् भनेर त्यसअनुसार काम गर्न निर्देशन दिइरहेका छौँ । अहिलेसम्म ग्राहकको पृष्ठपोषण राम्रो छ । पक्कै पनि केही सुधार गर्नुपर्ने कुरा होलान्, हाम्रा पनि कमजोरी होलान् तिनलाई हामी सुधार गर्दै गएका छौँ, र आगामी दिनमा पनि गर्छौँ । जुन किसिमले ग्राहकलाई सन्तुष्टि दिन सकेका छौँ, अहिलेसम्म हामी सन्तुष्ट छौँ । तत्काल हामीले आइटी अझ राम्रो बनाउने तयारी गरेका छौँ । समग्र बैंकिङ क्षेत्रमै विभिन्न लोभ प्रलोभनमा परेर सम्बन्धित खाताबाट पैसा चोरिने, ग्राहक ठगिने जस्ता घटना बाहिर आइरहेका छन्, यसमा हामीले सचेतना कक्षा दिइरहेका छौँ । ग्राहकहरु कसरी विषयमा अलिकति सचेत नभएका हुन् कि भन्ने हामीले महसुस गरेर मोबाइलबाट हुने कारोवार सुनिश्चित गर्ने तयारी गरेका छौँ । यसबाहेक व्यवसाय, सेवा, प्रविधि लगायत सबै हिसाबले हामी अब्बल हुन्छौँ भनेर लागेका छौँ, यसमा हामी सफल पनि हुन्छौँ ।

गरिमा विकास बैंकको जन्मिदैदेखिको उद्देश्य आफूलाई गरिमा बैंकमा स्थापित गर्ने थियो । यसका लागि तयारी कस्तो छ ?

५ वर्षमा गरिमाको पूँजी ८ अर्ब पुर्‍याउने लक्ष्य हाम्रो छ । पहिले २ अर्ब थियो । तर, हामीले बैंकका लागि तयारी गरेको भोलिपल्टै ८ अर्ब हुनुपर्ने प्रावधान आएको थियो । नियमनकारी निकायका नीति परिवर्तन भएनन् भने ५ वर्षमा बैंकमा स्थापित हुनेगरी हामीले आफ्नोतर्फबाट सबै तयारी गर्दैछौँ, त्यसअनुसार तयार भएर बसेका छौँ । भोलि नयाँ वाणिज्य बैंक बन्न दिने कि नदिने, वाणिज्य बैंकमा मर्ज हुनुपर्ने जस्ता नीति आउलान् । तर, नेपाल राष्ट्र बैंकले स्वीकृति दिएमा ५ वर्षमा वाणिज्य बैंकमा स्थापित हुनेगरी तयारीमा बसेका हुनेछौँ । अहिले १०६ शाखा भएकोमा प्रत्येक वर्ष कम्तीमा १२-१५ शाखा विस्तार गरी अबको ५ वर्षमा १७५ शाखा पुर्याउने लक्ष्य हामीले लिएका छौँ ।

विकास बैंक संघको होस् वा गरिमा विकास बैंकको तपाईँको नेतृत्वलाई धेरै रुचाएको देखिन्छ । सफल नेतृत्वको शूत्र के हो ?

सफल नेतृत्व नै भनेर म दाबी गर्दिन । तर, मैले बुझेको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने मैले कर्मचारीलाई खुसी बनायो भने ग्राहकलाई कर्मचारीले खुसी बनाउँछन् । म प्रत्यक्ष ग्राहकसँग सम्पर्कमा रहन्न । तर, कर्मचारी ग्राहकको सम्पर्कमा रहने भएकाले कर्मचारीलाई खुसी राखेपछि ग्राहकले राम्रो सेवा पाउँछन् । हुनसक्छ बाहिर चिनेको, आफन्त, भीआईपीको मान्छे होला । तर, कार्यालयभित्र कर्मचारी सबैलाई समान व्यवहार गर्ने, कामको सही मूल्यांकन गर्ने हो भने संस्था सबल बन्न सक्छ । त्यसकारण नेतृत्वले कुनै व्यक्तिगत स्वार्थ नराखी सबैलाई समान व्यवहार गरेर कर्मचारीहरुलाई उत्प्रेरित गर्यो भने संस्थामा समस्या आउँदैन भन्ने मलाई लाग्छ ।