काठमाडौं – क्यानडाकी कवि तथा लेखिका एन कार्सन सन् २०२६ को नोबेल साहित्य पुरस्कारबाट सम्मानित हुने भएकी छन्। शास्त्रीय साहित्यको परम्परासँग संवाद गर्दै समकालीन साहित्यमा नवीन शैली र अभिव्यक्तिको प्रयोग गरेबापत उनलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।
नोबेल समितिका अनुसार कार्सनका साहसिक तथा नवीन साहित्यिक कृतिहरूले समकालीन साहित्यमा नयाँ रूप र सम्भावनाहरू सिर्जना गरेका छन्। उनी नोबेल साहित्य पुरस्कार पाउने १९औँ महिला हुन्।
सन् १९५० मा क्यानडाको टोरोन्टोमा जन्मिएकी कार्सनले कविता लेखनसँगै अनुवाद र विश्वविद्यालयमा अध्यापन गर्दै आएकी छन्। सन् १९८१ मा उनले शास्त्रीय साहित्यसम्बन्धी विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गरेकी थिइन्।
सन् १९९० को दशकमा प्रकाशित उनका कृतिहरूले साहित्यिक क्षेत्रमा विशेष चर्चा बटुलेका थिए। सन् १९९५ मा प्रकाशित ‘ग्लास, आइरनी, एन्ड गड’ संग्रहमा समावेश ‘द ग्लास एसे’लाई उनको उल्लेखनीय रचनामध्ये एक मानिन्छ। उक्त कृतिले लामो कविताको सम्भावना र परम्परागत साहित्यिक विधाबीचका सीमालाई नयाँ ढङ्गले प्रस्तुत गरेको छ।
त्यस्तै, सन् १९९८ मा प्रकाशित ‘अटोबायोग्राफी अफ रेड: अ नोभल इन भर्स’लाई कार्सनको उत्कृष्ट कृतिमध्ये एक मानिन्छ। सन् २०१० मा प्रकाशित ‘नक्स’ले पनि साहित्यिक वृत्तमा प्रशंसा पाएको छ।
नोबेल समितिका अनुसार कार्सनका रचनामा भाषाप्रतिको गहिरो रुचि, शब्दको उत्पत्तिको खोजी र नयाँ अर्थ सिर्जना गर्ने साहित्यिक चाहना प्रमुख रूपमा देखिन्छ। उनले शब्दको व्युत्पत्तिलाई आफ्ना रचनाको आधार बनाउँदै आएकी छन्।
नोबेल पुरस्कार विजेतालाई आगामी डिसेम्बर १० मा स्विडेनको स्टकहोममा आयोजना हुने समारोहमा पदक, डिप्लोमा र पुरस्कार रकम प्रदान गरिनेछ।

















