काठमाडौँ – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड दिएको छ । सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउनुपर्ने औँल्याएको हो ।


ADVERTISEMENT


समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताइन् । उनले भनिन्, “आयोजनाको अवधि लामो राखौँ तर तोकिएको अवधिमा सकाउनुपर्छ ।”


ADVERTISEMENT

# # #


सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निकुञ्ज क्षेत्रमा रुख काट्न लामो समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको बताए । विगतमा सडक विभाग आफैँले रोपेको रुख काट्नसमेत वन विभागसँग अनुमति लिन लामो समय लागेको उनले उल्लेख गरे । उनले भने, “निर्माण व्यवसायीले पनि काममा ढिला गरिरहेको छ ।”

समितिका सदस्य जीपछिरिङ लामाले देशभरका सडक निर्माण गर्दा रुख काट्न र विद्युत्को पोल हटाउन समस्या हुने गरेको बताए ।

समितिका सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा समेत एउटा मन्त्रालयमै दुई वर्षसम्म फाइल अड्किँदा पूर्वाधार निर्माण अघि बढ्न सक्दैन भने । समितिका सदस्य केदार सिग्देलले पूर्व तयारी नगरी सडक निर्माण शुरु गर्दा समस्या आउने गरेको उल्लेख गरेभने अर्का सदस्य विना श्रेष्ठले अहिलेको अवस्थामा हेर्दा नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नहुने देखिएको बताए । समितिका सदस्य रामबहादुर विष्टले नयाँ बन्ने राजमार्गमा शौचालय, रेष्टुरेन्ट, बस बिसौनीलगायतको व्यवस्थापन हुनुपर्ने औँल्याए ।

समितिका सदस्य दामोदर भण्डारीले पूर्व–पश्चिम राजमार्ग दीगो, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा जोड दिए भने समितिका सदस्य टेकबहादुर बस्नेतले सडक विभागले मजदुरका समस्या समाधानमा ध्यान दिनुपर्ने उल्लेख गरे । समितिका सदस्य रङ्गमति शाहीले सडक निर्माणमा सधैँ ढिलाइ भइरहेको उल्लेख गरिन् ।