एजेन्सी – शनिवार म्यानमारको सेनाले आफ्नो वार्षिक सशस्त्र दिवस नागरिकमाथि बर्बर सशस्त्र आक्रमण गरेर मनाएको छ । सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले अन्धाधुन्ध गोली चलाउँदा ११४ लबढीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बालबालिका, महिला, अशक्तदेखि प्रदर्शनकारीहरु छन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिकले जनाएअनुसार सेनाले घर–घरमा पसेर गोली चलाएको छ, एक १३ वर्षीया बालिकालाई घरमै छिरेर सेनाले गोली हानी हत्या गरेको उक्त संस्थाले जनाएको छ ।
दुई महीना अघि भएको सैन्य ‘कू’पछि म्यानमारका नागरिकहरुले देशभरबाटै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीमाथि क्रूर दमन गर्दै आएको प्रहरीले शनिवार ४१ भन्दा बढी देशमा अन्धाधुन्ध गोली चलाएको छ ।
सेनाले शुक्रवार मात्रै प्रदर्शनमा उत्रिए ढाड र टाउकोमा गोली हान्ने धम्कीपूर्ण चेतावनी दिएको थियो । तथापि, नागरिकहरुले सैन्य ‘कू’को विरोध जनाएका थिए ।
सैन्य ‘कू’पछि हालसम्म म्यानमारमा सेनाले ४ सय बढीको हत्या गरिसकेको छ भने हजारौँ घाइते छन् ।
नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरी सेनाले गत फेब्रुअरी १ मा १ वर्ष संकटकालसहित राज्य आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो ।
नागरिक सरकार र सेनाबीचको चुनावलाई लिएर उत्पन्न विवादपछि सेना प्रमुख मिन ओङ ह्लाइङले ‘कू’ गरेर सत्ता हातमा लिएका थिए ।