काठमाडौं – एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’मा तीन कार्यदिनमै मागभन्दा बढी आवेदन परेको छ ।

कम्पनीका अनुसार बुधबार साँझ ५ बजेसम्म फण्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँभन्दा बढीको इकाई खरिदका लागि आवेदन परेको हो । मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

फण्डअन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड इकाई निष्कासन गरिएको थियो । यसमध्ये न्यूनतम १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ ।

बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि असोज ७ गतेदेखि असोज १३ गतेसम्म बिक्री खुला गरिएको थियो । तर, मागभन्दा बढी आवेदन परिसकेकाले असोज १३ गते बैंकिङ समयपछि आवेदन बन्द गरिने क्यापिटलले जनाएको छ ।

दश वर्ष अवधिको यो बन्दमुखी योजना एनआईसी एशिया क्यापिटलको छैटौँ योजना हो । योजनामार्फत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गरिने क्यापिटलले जनाएको छ ।

फण्डले राम्रो प्रतिफल तथा वृद्धि सम्भावना भएका कम्पनीको अध्ययन र अनुसन्धान गरी लगानी गर्ने लक्ष्य राखेको छ । योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।