भरतपुर– पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, स्कुटरसँग ठक्कर खाने ना ५ ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।


ADVERTISEMENT

# # #


दुराले चलाएको बसले शनिबार साँझ ना ४० प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको मृतकका आफन्त दीपक दबाडीले जानकारी दिए। उनले भने, ‘यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्त्येष्टिमा ढिलाइ भएको हो । भरतपुर अस्पतालमा शव परीक्षण गरेर अन्त्येष्टिका लागि लगिएको हो ।’

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र उनको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी रहेका छन् । जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नंको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोहनसहित स्कुटरको पछाडि सवार दुई छोरीको मृत्यु भएको थियो ।

बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस