तनहुँ- म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका विवरणलाई डिजिटलाइजेसन गरेको छ ।


ADVERTISEMENT


गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘व्यक्तिगत घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलन थियो, गाउँपालिकामा अब व्यक्तिगत घटना दर्ता डिजिटलमा रूपान्तरण भएको छ’, उनले भने, ‘यसले सबै प्रकारका विवरण खोज्न पनि सहज हुनुका साथै समयको पनि बचत हुन्छ ।’ उनका अनुसार, केही विवरण खोज्नुपर्दा ढड्डा पल्टाउनुपर्दा समस्या हुने गरेको थियो ।

गाउँपालिकाले सम्पूर्ण वडाका ३० हजार विवरण डिजिटल प्रविधिमा समावेश गरेको छ । ‘गत असोज महिनादेखि काम शुरु भएको थियो, सोमबार उक्त काम सम्पन्न भएपछि गाउँपालिकाले घटना दर्ताको डिजिटाइजेसन कार्य सकिएको घोषणा गरेको छ’, अधिकारीले भने, ‘कम्प्युटरमा नाम हान्नेबित्तिकै सम्पूर्ण विवरण एकैचोटी पाउन सकिन्छ ।’

सरकारले देशभरका स्थानीय तहमा यो कार्य गर्नका लागि रकमसमेत उपलब्ध गराएको थियो तर कतिपय स्थानीय तहले अझैसम्म पनि उक्त कार्य गरेका छैनन् । गाउँपालिकाले सातवटै वडा कार्यालयका घटना दर्ताका विवरण परामर्शदातामार्फत् डिजिटलाइजेसन गरेको हो ।

व्यक्तिगत घटना दर्ताका विवरण डिजिटल प्रविधिमा समावेश भएपछि कर्मचारीको समय बचत हुनुका साथै सेवाग्राहीले पनि छिटोछरितो सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । रासस