काठमाडौं – कोभिड १९ महामारीका बीच उत्साहवर्द्धक रूपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरूको अपेक्षा छ । एकातर्फ प्रतिकुल परिस्थितिमा पनि पर्वतारोहणका लागि बाक्लो संख्यामा विदेशीको आगमन, अर्कोतफ विशिष्ट पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् । यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका २४४ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT


विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धवलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।


ADVERTISEMENT

# # #


महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङले असहज परिस्थिति हुँदाहुँदै पनि सगरमाथासहितमा हिमाल आरोहणका लागि विदेशीको बाक्लो संख्यामा उपस्थितिले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए । एनएमएको तथ्यांकअनुसार गत साउन १ देखि फागुन २९ गतेसम्म ६२ ओटा पिकका लागि अनुमति जारी भएका छन् । उक्त पिकमा १६९ पुरुष र २३ महिलाले आरोहण गर्दै छन् । पिक पर्मिटबाट हालसम्म १६ लाख ८६ हजार रोयल्टी संकलन भएको छ । यतिबेला विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।

कोभिड महामारी जोखिमकाबीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ट पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर पैmलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । सेभेन समिट ट्रेकमार्फत हुन लागेको यो आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् । नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच यसअघि ‘हाई प्रोफाइल’ व्यक्तिको नेपाल भ्रमण, प्रख्यात मुलुकबाट भइरहेको विशिष्ट आरोहणले पनि नेपालको पर्वतीय पर्यटनबारे सकारात्मक सन्देश प्रवाह भइरहेको बताए ।

होटल एशोसिएशन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले वसन्त यामको आरोहणका लागि बाक्लो संखयामा विदेशी आउनुले असहज परिस्थितिमा पनि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व पर्यटन बजारमाझ पुर्याउन सहयोग पुगेको बताए ।

उनका अनुसार महामारी कम भएका बेला खासगरी आन्तरिक पर्यटकले नेपालका होटेलको बिजनेश केही हदसम्म सुधारोन्मुख भइरहेको सन्दर्भमा कोभिड महामारीको हालको अवस्थाले पुनः व्यवसायीलाई चिन्तित तुल्याएको छ ।

कोरोना संक्रमण घटेको अवस्थामा नेपालका पर्यटकस्तरदेखि पाँचतारे होटेलमा करीब १० प्रतिशत अकुपेन्सी रहेको हानका प्रथम उपाध्यक्ष शाहले बताए ।

यो संख्या नेपाली पर्यटक तथा भारतीय पर्यटकको मात्रै हो । कोभिडसम्बन्धी मापदण्ड खुकुलो बनाई विदेशी पर्यटक आवागमन सहज तुल्याउने गरी व्यवस्था गरिए पनि पछिल्ला दिनमा कोरोना संक्रमण बढ्न थालेकाले पुनः पर्यटन व्यवसायीलाई झस्क्याएको छ । रासस