काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गरेको बताएका छन्।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गरे ।


ADVERTISEMENT

# # #


“नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भने “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उनले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले नागरिक सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताए । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सरकार सफल भएको उल्लेख गरे।

“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन”, प्रधानमन्त्री ओलीले भने, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस अवधिमा ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” विसं २०७७ मा देशका विभिन्न स्थानमा ठूला क्षमताका सभागृहहरू निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेको जानकारी दिए।

जनतामा आशा जागेको छ

प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताए । “जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास जनाउने काम लगातार गर्दै जाने छौँ ”, प्रधानमन्त्री ओलीले भने, “प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।” उनले महिनाको रु १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै शुरु गरेकोसमेत उनले बताए ।

देशका पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताए। उनले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाए ।

पुनः निर्माणमा असाधारण काम

प्रधानमन्त्री ओलीले भूकम्पपछि बनेको पुनः निर्माण प्राधिकरणले पुनः निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाएको बताए। “रानीपोखरी शिलान्यास गरिसक्यो, धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि जान सक्ने र माथिबाट काठमाडौँको दृश्यवालोकन गर्न सकिने गरी निर्माण हुँदैछ”, उनले थपे । नयाँ हवाई मैदानको स्तरन्नोति र रात्रि सेवा सञ्चालन गरी त्रिवि विमानस्थलमा झर्ने बित्तिकै नयाँपनको अनुभूति दिने खालका विविध काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रतिकूलताका बीचमा पनि थुप्रै विद्यालयहरू बनेको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको नवनिर्माण भएको तथा यही ६ गते पाटन ढोकामा जापानको सहयोग उच्च माध्यामिक विद्यालय उद्घाटन गर्ने तयारी रहेको जानकारी दिए ।

मेलम्चीको पानी सपनाको गफ होइन

प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँ उपत्यकाको घरघरमा ल्याउनु सपनाको गफ मात्र नभएको बताए । “मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा कसैले गफ भने”, प्रधानमन्त्री ओलीले भने, “मेलम्चीको पानी ल्याउने विषय सपनाको गफ होइन, तर अहिले काठमाडौँका धाराधारामा पानी आइसकेको छ ।” उनले देशलाई माथि उठाउन डिजिटल नेपालको अभियान शुरु गरेको र विभिन्न आयोजनाहरू सिंहदरबारबाट हेर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

सकेसम्म बन्दाबन्दी हुन्न

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूमा कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गरिएको भए पनि अहिलेकै अवस्थामा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै नेपाली जनताको सुरक्षाका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड–१९ को सामना गर्नुपरेको तर्क गर्दै उनले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताए।

प्रधानमन्त्री ओलीले भने, “२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपुर्याइयोस् भनेर सरकारले काम गरिहरेको छ ।” उनले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे । विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपलब्धिको वर्ष रहेको बताए ।

प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेज्न कर्पोरेशन(एमसीसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा सम्झौता भएकोमा वर्तमान सरकारले संसद्मा टेबल गरेको विषयलाई गलत प्रचार गरिएको बताए । उनले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामथ्र्य देश विकासमा लगाउन जरुरी भएको बताए।

मेरो कित्ता कार्यक्रम आजैदेखि

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताए । उनले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, “नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौँ ।”

उनले हुम्लाको सिमीकोटमा पनि अब सडक पुर्याउने, विश्वविद्यालय, अस्पताल, शिक्षालय निर्माणलाई व्यापकता दिइएको उल्लेख गर्दै नेपालमा लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारको सहमतिमा उपयुक्त कानून निर्माण गर्ने विषय तीव्रताका साथ अघि बढेको बताए ।

हल्लाका पछि नलाग्न आग्रह

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरे। उनले देश र जनताको सर्वपरि हितलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । प्रधानमन्त्री ओलीले भय, त्रास र सम्मानजकरूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सरकार लागि परेको बताए।

प्रधानमन्त्री ओलीले कोभिडबाट बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गरे । उनले देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरे ।रासस