काठमाडौँ – पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । २०७२ बैसाख १२ गतेको भूकम्पले भत्काएको धरहराको पुनःनिर्माणको काम नसकिदै प्रधानमन्त्री ओलीद्वारा उद्घाटनको  तयारी गरिएको छ ।


ADVERTISEMENT


अहिले स्तम्भ तयार हुँदैछ । आगामी सातासम्ममा स्तम्भको काम सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । बाँकी सबै संरचना तयार हुन भने अझैँ कम्तीमा ९ महीना लाग्ने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘स्तम्भ मात्र बनेकोमा उद्घाटन गरेर बाँकी संरचनाको काम गर्दै जाने तयारी गरेका छौँ ।’

प्राधिकरणकाअनुसार भूकम्पले भत्किएको धरहरा बाहिरबाट झट्ट हेर्दा पुरानै डिजाइनमा तर आधुनिक डिजाइनका साथ बनाउन लागिएको हो । यद्यपि, धरहराको आधुनिकीकरण गरेर धरहराको खास डिजाइन बिगारिएको भन्दै आलोचना हुँदै आएको छ । किनभने यसको भित्री भागमा संग्रालय, थियटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ र पार्किङसहित व्यवसायीक कम्प्लेक्सका रुपमा विकास गर्न लागिएको छ । गोश्वारा हुलाक कार्यालयलाई हटाएर त्यहाँ तीनवटा पार्किङ र सङ्ग्रालय बनाउन लागिएको छ । यसैगरी धरहराकोभित्र एउटा भर्याङ
र दुईवटा लिफ्ट राख्न लागिएको छ ।

भत्किएको धरहराको बाँकी भाग संरक्षण गरेर त्यसको १० मिटर पूर्व नयाँ धरहरा बनाउन लागिएकोमा यसमा पहिलेको भन्दा १३ तला बढी हुनेछन् ।

१८३२ मा भिमसेन थापाले भिमसेन स्तम्भका रुपमा निर्माण गर्न लगाएको धरहरामा ११ वटा तला थिए । पछि १९९० को भूकम्पको क्षतिपछि ९ वटा तलामा मात्र सीमित भएको धरहरालाई बाहिरबाट ११ वटा तला जस्तो देखिने गरि निर्माण गरिएको प्राधिकरणका सूचना अधिकारी घिमिरेले बताए ।

तला थपिएपनि पहिले २०३ फिट उचाइ रहेको धरहराको नयाँ उचाइ गजुरसहित २ सय ४५ मिटर हुनेछ । सरकारले धरहरा पुनःनिर्माणको काम पुनःनिर्माण प्राधिकरणलाई दिएकोमा प्राधिकरणले ठेक्कामार्फत २०७५ भदौमा जीआईईटीसी–रमन कन्स्ट्रक्सनलाई धरहरा बनाउने जिम्मा दिएको थियो । त्यसको २ महीनादेखि नै रमनले काम शुरु गरेकोमा सम्झौताअनुसार २०७७ कात्तिकसम्ममा रमनले पुनःनिर्माणको काम सक्नुपर्ने थियो । तर कोरोनाका कारण काम गर्न नसकेको भन्दै कम्पनीले समय माग गरेकोमा प्राधिकरणले ९ महीना समय थप गरेको थियो ।

जसअनुसार हालसम्म कम्पनीले स्तम्भको काम लगभग सकेकोमा अन्य सङ्ग्रालय, पार्किङ, बगैँचा लगायतको काम आगामी ९ महीनाभित्र सक्ने लक्ष्य प्राधिकरणको छ । हामीले नजीकैको ढुङ्गेधाराको पुनःनिर्माणसहित आधुनिक धरहरा निर्माण गर्न लागेकोमा स्तम्भको काम लगभग सकिएको छ,’ प्राधिकरणका सूचना अधिकारी घिमिरेल भने, ‘पुससम्ममा यी सबै काम सक्ने तयारी छ ।’