काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गरेका हुन् ।


ADVERTISEMENT


२० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए । महतले भने, ‘यसकिसिमका अनुसन्धानले नेपालको साँस्कृतिक समृद्धिमा जोड पुग्नेछ । यस्ता खोज अनुसन्धानहरुलाई नेपाली काँग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ , यसकिसिमका खोज-अनुसन्धान गर्नेलाई उचित मूल्यांकन समेत पार्टीले गर्नेमा विश्वस्त छु ।’


ADVERTISEMENT

# # #


प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभएको बताउँदै भने, ‘यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्छ त्यसको लागि सबै तर्फबाट पहलकदमी आवश्यक छ ।’

सभापति देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाई दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए । उनले नेपाल विभिन्न जातजातीको फूलबारीको रुपमा रहेको र साँस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताए ।

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।