हेटौँडा — दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा भएको हेटौँडा इन्डोर लिग (Hetauda Indoor League) २०२६ को उपाधि याङ्ग्री ब्वाइजले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा याङ्ग्री ब्याइजले आयोजक माया स्पोर्ट्स सेन्टरलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनलमा पहिले ब्याटिङ गरेको माया स्पोर्ट्स सेन्टरले ९.४ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। उसका लागि विशाल फुयाँलले २० बलमा ५० रनको उत्कृष्ट इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा ६ छक्का प्रहार गरे। चौथो विकेटका लागि आशिम श्रेष्ठ र विशाल फुयाँलले २५ बलमा ५० रनको साझेदारी गरेका थिए।


ADVERTISEMENT

# #


८८ रनको लक्ष्य पछ्याएको याङ्ग्री बोयजले ९.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। याङ्ग्री बोयजका सक्षम बास्ताकोटीले १५ बलमा २४ रन बनाए। उत्कृष्ट प्रदर्शन गरेका बास्ताकोटी म्यान अफ द म्याच घोषित भए।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका जिल्लाका १२ टोली सहभागी थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गरेका थिए।


ADVERTISEMENT

#
#


प्रतियोगितामा व्यक्तिगत विधातर्फ माया स्पोर्ट्स सेन्टरका रोहित शर्मा बेस्ट ब्याट्सम्यान घोषित भए। उनले प्रतियोगिताभर कुल २०१ रन बनाए। माया स्पोर्ट्स सेन्टरकै रोहित ठाकुर बेस्ट बलर घोषित भए। उनले प्रतियोगितामा ७ विकेट लिए। यस्तै, याङ्ग्री बोयजका सुमित महर्जन म्यान अफ द सिरिज घोषित भए।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिएको थियो। प्रदेश खेलकुद विकास परिषद्का दीपक लामा र राष्ट्रिय खेलाडी अनिल शाहले विजेता टोलीलाई मेडल, ट्रफी र चेक हस्तान्तरण गरेका थिए। उपविजेता टोलीलाई मकवानपुर क्रिकेट संघका पूर्वअध्यक्ष बासुलाल श्रेष्ठले मेडल, ट्रफी र चेक प्रदान गरेका थिए।

प्रतियोगिताको विजेता याङ्ग्री बोयजले एक लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता माया स्पोर्ट्स सेन्टरले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

स्थानीयस्तरमा क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले मकवानपुरसहित विभिन्न जिल्लाका क्रिकेट टोलीलाई प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको आयोजका संचालक रबि धमालाले बताए ।