काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई २३९ रनको विशाल चुनौती दिएको छ ।


ADVERTISEMENT


नेपालले टी-२० क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोे बनाएको हो । यसअघि नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो ।


ADVERTISEMENT

# # #


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । सिरिजका ५ खेलमध्ये ४ खेलमा अर्धशतक बनाएका उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै आशिफ शेखले ८ बलमा १ चौका र २ छक्का हान्दै १६ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्काको मदतमा ३३ रन बनाए ।

 यस्तै कुशल मल्लले अर्धशतक बनाए । उनले २४ बलमा २ चौका र ५ छक्का ठोक्दै नटआउट ५० र दीपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का हान्दै ४८ रनमा नटआउट रहे ।‌‌

नेदरल्याण्डका‌ लागि फलिप बोइसेभेलले २ विकेट लिए भने सेवास्टिएन वार्टका नाममा १ बिकेट रह्यो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको सिरिजमा नेपालसहित नेदरल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गरेका थिए । डबल राउन्ड रोबिनमा भएको प्रतियोगिताको अंक तालिकाको शीर्ष दुईमा रहँदै नेपाल र नेदरल्याण्ड फाइनल पुगेका हुन् ।

नेपालले ४ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको थियो । नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई ९ तथा दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । यता नेदरल्याण्ड ४ खेलमा २ जित र १ बराबरी खेल्दै ५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो । उसले मलेसियाविरुद्ध १ जित र १ बराबरी खेलेको थियो ।

समूह चरणमा दुई टोलीले १–१ खेल जितेकाले आजको फाइनल वास्तविक लडाईं हुनेछ ।

नेपाललाई पहिलो पटक घरेलू मैदानमा टी–२० अन्तर्राष्ट्रिय सिरिज जित्ने मौका रहेको छ । यस्तै पहिलो पटक त्रिकोणात्मक सिरिज जित्ने मौका पनि नेपालसँग छ । यसअघि नेपालले सन् २०१९ फेब्रुअरीमा युएईविरुद्ध उसकै घरेलू मैदानमा ३ खेलको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको थियो । यस्तै सन् २०१९ जुलाईमा मलेसियालाई उसैको मैदानमा दुई खेलको सिरिजमा क्लिनस्वीप गरेको थियो ।

यद्दपी त्रिकोणात्मक टी–२० सिरिज भने नेपालले अहिलेसम्म जितेको छैन ।