काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवामा सफल हुन नैतिकता, निष्ठा र इमानदारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनले नागरिकको विश्वास जित्ने गरी निष्पक्ष, जिम्मेवार र अनुशासित भएर काम गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिमका क्रममा सिकेका ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन्।


ADVERTISEMENT

# #


प्रहरीले संविधान, प्रचलित कानुन, नियम तथा कार्यविधिको पालना गर्दै आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा उनले जोड दिए। शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण दायित्व प्रहरीको काँधमा रहेको उल्लेख गर्दै उनले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए।

प्रधानमन्त्री शाहले प्रहरी सेवामा भेदभावरहित व्यवहार, पेशागत आचरण र अनुशासन अपरिहार्य रहेको बताए। नागरिकको भावना र अपेक्षालाई बुझेर जिम्मेवारी निर्वाह गर्न तथा संगठनभित्र आपसी सहयोग र सहकार्यलाई प्राथमिकता दिन पनि उनले आग्रह गरे।


ADVERTISEMENT

#
#


त्यसैगरी, प्रहरी सेवालाई छिटो, छरितो, सहज र पारदर्शी बनाउन सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको भनाइ थियो। अपराध अनुसन्धानलाई तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी बनाउन प्रविधिको सही उपयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए।

प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धि गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउने र प्रहरी संगठनप्रतिको जिम्मेवारी पूरा गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले स्पष्ट पारे।

समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, उनीहरूलाई प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।