काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिएका छन् । अध्यक्ष पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहँुदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जनाए।

संघका उपाध्यक्ष डा. बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताए। संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे । संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।

संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिनुभयो । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जनाए ।

बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र स्वास्थ्य जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् । रासस