कास्की– कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ ।


ADVERTISEMENT


यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेको हो ।


ADVERTISEMENT

# # #


अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् । अटो मेकानिकल वर्कसपहरुमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरुमा उपलब्ध गराउने गरी अक्सिजन बैँक स्थापना गरिएको बताइएको छ ।

कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरुको अभियानमा साथ दिन आग्रह गरेका छन् । उनी भन्छन्, ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौँ । कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैँ ।

रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैँक स्थापनाको अभियान शुरु गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालहरुमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ ।

अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरु सिलिण्डर खोजीमा जुटेका छन् । रासस